एजेन्सी । इरानले सैन्य आक्रमण गरे अमेरिकामाथि जबाफी हमला गर्ने चेतावनी दिएपछि अमेरिकाले मध्यपूर्वमा रहेका आफ्नो मुख्य मुख्य सैन्य अड्डाबाट कर्मचारी फिर्ता बोलाउन थालेको छ।
इरानमा चर्केको प्रदर्शनलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार सैन्य हमलाको चेतावनी दिँदै आएकोमा इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैनिक अड्डालाई निशाना बनाउने चेतावनी दिएका थिए।
इरानी चेतावनीपछि अमेरिकाले कतार, बहराइन लगायतका देशहरूमा रहेको सैनिक अड्डाबाट केही कर्मचारीलाई फिर्ता बोलाएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
कतारको अल उदैदस्थित अमेरिकी सैनिक अड्डाबाट केही सैनिक कर्मचारीहरूलाई ट्रम्पले फिर्ता बोलाइसकेको भनेर अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले लेखेको छ। कतारको सैन्य अड्डालाई यसअघि पनि इरानले निशाना बनाएको थियो।
गत जुन महिनामा अमेरिकाले इरानको तीन वटा परमाणु भट्टीहरूमा शक्तिशाली बम खसालेर कामै नलाग्ने गरी ध्वस्त बनाएको थियो। जबाफमा इरानले कतारमा रहेको अमेरकी सैन्य अड्डामा हवाई हमला गरेको थियो।
यसपालि पनि इरानले हमला गर्न सक्ने भनेर ती अड्डाबाट कर्मचारीलाई फिर्ता बोलाएको सिएनएनले लेखेको छ। अमेरिकाले सैन्य कर्मचारी फिर्ता बोलाएपछि कतार सरकारले आफ्ना नागरिक र बासिन्दाहरूको सुरक्षाका लागि सबै उपायहरू कार्यान्वयन गरिने बताएको सिएनएनले जनाएको छ।
अमेरिकाले सैनिक कर्मचारीलाई फिर्ता बोलाउनुलाई अर्को कोणबाट पनि हेरिएको छ। ह्वाइट हाउसका केही अधिकारी र युरोपेली अधिकारीरूले अमेरिकाले इरानमा हमला गर्ने पूर्वतयारीका रूपमा मध्यपूर्वको सैनिक अड्डाबाट कर्मचारीलाई फिर्ता बोलाएको हुन सक्छ भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
रोयटर्सले युरोपेली दुई अधिकाहरूलाई हवाला दिएर लेखेको समाचारमा आगामी चौबीस घन्टाभित्र अमेरिकाले इरानमा हमला गर्न सक्छ भनेको छ। एक जना इसराइली अधिकारीले पनि राष्ट्रपति ट्रम्पले सैन्य हमला गर्ने निर्णय लिइसकेका छन् भनेका छन्। यद्यपि आक्रमणको दायर र समय स्पष्ट नभएको ती अधिकारीलाई उद्धृत गरेर रोयटर्सले लेखेको छ।
इरानमा पछिल्लो दुघ सातादेखि जारी सरकारविरोधी प्रदर्शन अहिलेसम्मकै सबैभन्दा हिंसात्मक बनेको छ। सुरूवाती दिनमा आर्थिक संकट विरुद्ध सुरु भएको आन्दोलन पछिल्ला दिनमा तीव्र बन्दै गएपछि मृत्यु हुनेको संख्या तीव्र रूपमा बढिरहेको छ।
इरानी अधिकारीहरूका अनुसार १७ दिनमा २ हजारभन्दा बढीको मृत्यु भएको जनाएको छ। अमेरिकी मानवअधिकारवादी संस्थाहरूले भने मृतकको संख्या २६ सय नाघेको दाबी गरेका छन्।
यस क्रममा १८ हजारभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमा प्रदर्शनकारीको समर्थनमा बारम्बार इरानमा सैन्य कारबाही गर्ने चेतावनी दिँदै आएका छन्।
उनले सुरूवातमा इरानी प्रदर्शनकारीहरूको सुरक्षार्थ अमेरिकाले हस्तक्षेप गर्ने बताएका थिए। पछि प्रदर्शनकारीमाथि गोली प्रहारको क्रम नरोकिए अमेरिकाले इरानी नेतृत्वमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए।
मंगलबार फेरि ट्रम्पले इरानी प्रदर्शनकारीहरुको समर्थन गर्दै प्रदर्शन जारी राख्न आग्रह नै गरेका थिए। ‘तपाईंहरू प्रदर्शन जारी राख्नुस्। अमेरिकाबाट सहायता आउँदैछ,’ उनले भनेका छन्। यद्यपि त्यो सहायता के हो भनेर चाहिँ उनले खुलाएका छैनन्।
परिस्थिती प्रतिकूल बन्दै गएपछि इरानका विदेशमन्त्री अब्बास अराक्ची र ट्रम्पका मध्यपूर्व हेर्ने विशेष दूत स्टिभ विटकोफबीच हुने भनिएको संवाद पनि स्थगित भएको छ।
बढ्दो तनावबीच अमेरिकाले आफ्ना नागरिकहरूलाई पनि तत्काल इरान छाड्न निर्देशन दिइसकेको छ। तेहरान हेर्ने ‘भर्चुअल’ अमेरिकी दूतावासले विज्ञप्ती जारी गरी इरानमा बढ्दो हिंसात्मक प्रदर्शनलाई लिएर आफ्ना नागरिकहरूलाई तत्काल देश छाड्न निर्देशन दिँदै मंगलबार सूचना जारी गरेको थियो।
दूतावासले इरानमा दुई साताभन्दा लामो समयदेखि जारी प्रदर्शन हिंसात्मक बन्दै गएको अवस्था र प्रदर्शनकारीमाथि त्यहाँको सरकारले गरेको दमनका बीच अमेरिकी नागरिकहरू असुरक्षित हुन सक्ने भन्दै तत्काल देश छाडेर अन्यत्र जान भनेको हो।
अमेरिकाले इरानमाथि दबाब बढाउनका लागि हालसालै इरानसँग व्यापार गर्ने देशहरूमाथि थप २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका थिए। यद्यपि त्यसबारे थप विवरण सार्वजनिक भएको छैन। साथै ह्वाइट हाउसले त्यसको कार्यान्वयनबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
पश्चिमी अधिकारीहरूले इरानमा आन्दोलनले सरकारलाई कमजोर बनाएको भए पनि जतिसुकै दबाब दिए पनि तत्काल इरानी सरकार ढल्ने नदेखिएको बताएका छन्।
त्यहाँको सुरक्षा संयन्त्र अझै सरकारकै नियन्त्रणमा रहेको इरानी सञ्चारमाध्यमले सरकारप्रति समर्थन जनाएकाले सत्ता तत्काल ढल्ने अवस्था नरहेको भनेर रोयटर्सले लेखेको छ। इरानी मिडियाहरूले सरकारको पक्षमा विशाल अन्त्येष्टि जुलुस र सभाका दृश्यहरूलाई प्राथमिकताका साथ प्रसारण गर्ने र आन्दोलनका दृश्यहरूलाई लुकाउने प्रयास गरिरहेका छन्।
इरानका राष्ट्रपति मसुद पेजेशकियानले सरकारसँग जनसमर्थन रहँदासम्म शत्रुको प्रयास असफल हुने बताएका छन्।
प्रतिक्रिया