काठमाडौँ । देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको बताएका छन् ।
‘हामीलाई कारबाही गरेको सुनेका छौं,’ थापाले भने, ‘यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेस भएको थिएँ । २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ । २०६२/०६३ मा त आन्दोलनको नेतृत्व गरेको थिएँ । कसैले हटायौं भनेर हट्ने होइन ।’
उनले पार्टीलाई एकढिक्का राख्न विभिन्न प्रयास गरेपनि त्यो सफल नभएको बताएका छन् । महाधिवेशन हलमा सम्बोधन गर्दै थापाले आफूले विकसित राजनीतिक घटनाक्रमबारे नेतृत्वलाई बुझाउन नसकेको बताएका हुन् ।
‘मैले नेतृत्वलाई बुझाउन सकिनँ’,उनले भने । आज बिहानमात्रै सभापति शेरबहादुर देउवासँग छलफल गरेको र विशेष महाधिवेशनबारे बुझाउन खोजेको तर नसकेको उनले बताए ।
‘२ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूले आफ्नो हक प्रयोग गरेर विशेष महाधिवेशन आयोजना गरिएको हो । म यहाँ पाहुना भएर आइसकेपछि र महामन्त्रीको हैसियतले पहल गर्नुपर्ने जति गर्नु स्वाभाविक हो’, थापाले भने, ‘तर बाहिर जेजस्तो समझदारी भएपनि हलमा आउनैपर्छ ।’
त्यसक्रममा उनले विशेष महाधिवेशनपछि कांग्रेस बदलिएको छ भनेर भन्न पाउनुपर्छ भनेर सभापति देउवालाई भनेपनि सुनुवाइ नभएको बताए ।
प्रतिक्रिया