काठमाडौँ । चर्चित भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल’ सिजन ३ विजेता बनेपछि प्रशान्त तामाङको चर्चा एकाएक चुलिएको थियो।साधारण पृष्ठभूमिबाट उठेर विजेता बन्नु प्रशान्तको व्यक्तिगत सफलता मात्र थिएन, सपनाले जित्न सकिन्छ भन्ने उदाहरण समेत बनेका थिए।
अन्तर्राष्ट्रिय मञ्चमा नेपाली भावना, पहिचान र स्वर प्रस्तुत हुनु नेपाली भाषी समुदायका लागि गौरवको क्षण थियो। उनको जितले विशेषगरी गोर्खा तथा नेपाली भाषी समुदायमा ठूलो गर्व र उत्साह पैदा गरेको थियो।
प्रतियोगितामा उनको सरल व्यक्तित्व र भावनात्मक गायनले लाखौं स्रोता तथा दर्शकको मन जितेको थियो। प्रशान्तले गायन क्षेत्रमा मात्र नभएर अभिनेताका रूपमा समेत आफ्नो राम्रो उपस्थिति छाडे। इन्डियन आइडल बनेको दुई/तीन वर्षमै प्रशान्तले नेपाली फिल्ममा अभिनय समेत गरे।
प्रशान्तले पाल्पाका अग्रज संगीतकार नारायण रायमाझीको फिल्म ‘गोर्खा पल्टन’ बाट डेब्यू गरेका थिए। त्यसपछि ‘परदेशी’ र ‘परदेशी २’ जस्ता उनी अभिनीत फिल्महरूले दर्शकको मन जिते। खासगरी यी फिल्ममा परदेशिएका नेपालीको पीडा, देशप्रतिको मायालाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ।
उनले ‘अँगालो यो मायाको’, ‘किन मायामा’, ‘निशानी’ जस्ता नेपाली फिल्ममा समेत काम गरेका छन्। उनी अभिनीत पछिल्लो नेपाली फिल्म ‘पहिचान’ गत मंसिरमा रिलिज भएको थियो।
शान्त स्वभाव, मुस्कुराएर बोल्ने विनम्र व्यक्तिका रूपमा चिनिने प्रशान्तले हिन्दी र नेपालीसहित अन्य भाषाका गीत गाएका छन्। नेपाली गीतमा ‘असारे महिनामा’, ‘मन साइँली’, ‘जाउँला रेलैमा सरर’, ‘बिछोडको करौतीले’ लगायत गीत हिट छन्।
पछिल्लो समय गायनभन्दा अभिनयमा सक्रिय उनी भारतीय वेब सिरिज ‘पाताल लोक’ को दोस्रो सिजनमा देखिएका थिए। त्यसमा उनको भूमिकाको प्रशंसा भएको थियो। सलमान खानको नयाँ फिल्म ‘ब्याटल अफ गलवान’ मा पनि उनको अभिनय छ।
गायकनसँगै अभिनयमा समेत आफ्नो उपस्थिति छाडेका प्रशान्तबारे आइतबार बिहानै दुखद खबर आयो। उनको ४३ वर्षको उमेरमा अचानक निधन भएको खबरले संगीत तथा फिल्म क्षेत्र स्तब्ध छ। पश्चिम बंगालको दार्जिलिङमा जन्मिएका प्रशान्त तामाङ सन् २००७ मा ‘इन्डियन आइडल’ सिजन ३ विजेता बनेका थिए।
त्यसअघि उनी कोलकाता प्रहरीमा कार्यरत थिए। प्रहरीमा हुँदा पनि उनी गायनमा सक्रिय थिए। उनका बुबा पनि प्रहरी थिए। एक दुर्घटनामा उनको निधन भएको थियो। प्रशान्तकी आमाको चार वर्षअघि निधन भएको थियो।
प्रशान्तकी एक बहिनी पनि छन्। उनले सन् २०११ मा एयर होस्टेस गीता थापासँग बिहे गरेका थिए। उनीहरूकी एक छोरी छन्। पछिल्लो समय प्रशान्त दिल्लीमा बस्दै आएका थिए।
प्रशान्तको निधनमा नेपाली संगीत तथा फिल्म क्षेत्रका व्यक्ति तथा उनका शुभेच्छुकहरूले सामाजिक सञ्जालमा गहिलो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।
प्रतिक्रिया