काठमाडौँ । अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिस सहरमा अध्यागमन अधिकारीले गोली हानेर एक महिलाको हत्या गरेको विरोधमा हजारौं मानिसले मैनबत्ती बालेर श्रद्धाञ्जलि सभा आयोजना गरेका छन्।
अमेरिकी अध्यागमन अधिकारीको गोलीको सिकार भएकी महिला ३७ वर्षीया रेनी निकोल गुड हुन्। उनी एक पुरस्कारप्राप्त कवि, तीन सन्तानकी आमा र चलचित्रप्रेमी रहेको ‘वासिङ्टन पोस्ट’ लेखेको छ।
वासिङ्टन पोस्टका अनुसार रेनीले भर्जिनियाको नर्फोकस्थित ओल्ड डोमिनियन विश्वविद्यालयमा सिर्जनात्मक लेखन अध्ययन गरेकी थिइन्। उनले सन् २०२० मा स्नातक विद्यार्थीहरूका लागि दिइने ‘एकेडेमी अफ अमेरिकन पोएट्स’ पुरस्कार जितेकी थिइन्। रेनीकी १५ वर्षीया छोरी र १२ र ६ वर्षका दुई छोरा छन्।
डेमोक्रेट सिनेटर टीना स्मिथ (मिनेसोटा) ले सामाजिक सञ्जालमा लेखे अनुसार रेनी आप्रवासी होइन, अमेरिकी नागरिक थिइन्। तर संघीय अधिकारीहरूले अहिलेसम्म उनको नाम सार्वजनिक गरेका छैनन्। उनको नागरिकता पनि पुष्टि गरेका छैनन्।
स्मिथले बुधबारको उक्त घटनाको निन्दा गर्दै अध्यागमन अधिकारीहरूलाई ‘तत्काल मिनेसोटा छाड्न’ आह्वान गरेका छन्। ओल्ड डोमिनियन विश्वविद्यालयका अध्यक्ष ब्रायन ओ हेम्फिलका अनुसार रेनीले सन् २०२० डिसेम्बरमा अंग्रेजी विषयमा स्नातक डिग्री हासिल गरेकी थिइन्।
‘हाम्रो देशमा भय र हिंसा सामान्य बन्दै गएको छ भनी पुष्टि गर्ने यो अर्को उदाहरण हो,’ उनले भने। गुड कोलोराडो स्प्रिङ्सकी बसोबासी थिइन्। कविताको पुरस्कार जित्दा सामाजिक सञ्जालमा प्रकाशित छोटो जीवनी अनुसार उनले त्यति बेलाका पति, कमेडियन टिम म्याक्लिनसँग मिलेर एक पोडकास्ट पनि सह–सञ्चालन गरेकी थिइन्।
मिनेसोटा स्टार ट्रिब्युनका अनुसार म्याक्लिनको सन् २०२३ मा मृत्यु भएको थियो। उनीहरूका ६ वर्षे छोरा छन्। रेनी गुडको नाममा देखिने एक इन्स्टाग्राम खातामा उनले आफूलाई ‘कोलोराडोकी कवि, लेखक, पत्नी, आमा र नराम्रो गिटार बजाउने व्यक्ति’ भन्दै वर्णन गरेकी थिइन्। कविता पुरस्कारसँग जोडिएको जीवनीमा पनि उनलाई लेखनप्रति समर्पित र जिम्मेवार आमाका रूपमा चित्रण गरिएको छ।
वासिङट्न पोस्टका अनुसार बुधबारको गोलीकाण्ड र त्यसबारे ट्रम्प प्रशासनले अघि सारेको कथनले मिनियापोलिस मात्र होइन, सिंगो देशलाई तरंगित बनाएको छ। अमेरिकी गृह सुरक्षा विभागले रेनी निकोल गुडले अध्यागमन एजेन्टहरूलाई गाडीले किच्ने प्रयास गरेको दाबी गरेको छ।
मिनियापोलिसका मेयर ज्याकोब फ्रेले भने यसलाई ‘शक्ति प्रयोग’ को घटना भनेका छन्। उनले त्यस्ता अध्यागमन एजेन्टलाई सहर छाड्न आग्रह पनि गरेका छन्। अवैध आप्रवासीविरूद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले देशव्यापी कारबाही थालेपछि सयौं अध्यागमन एजेन्टहरू मिनियापोलिसमा तैनाथ गरिएका छन्।
बुधबार बिहान करिब १०:२५ बजे भएको गोलीकाण्डको क्षण सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा देखिन्छ। विभिन्न कोणबाट खिचिएका ती भिडिओमा मिनियापोलिसको एक आवासीय सडकमा एक एसयुभी गाडी बाटो छेकेर रोकिएको देखिन्छ। सडक छेउमा विरोध प्रदर्शन गरिरहेका जस्ता देखिने मानिसहरूको भिड उभिएको छ।
त्यसैबीच अध्यागमन अधिकारीहरू गाडी नजिक पुग्छन् र एसयुभी चलाइरहेकी महिलालाई बाहिर निस्कन आदेश दिन्छन्। एक जना एजेन्टले चालकपट्टिको ढोका तान्छन्। अर्का एजेन्ट गाडीको अगाडि उभिएका देखिन्छन्।
बिबिसीका अनुसार ती एजेन्ट गाडीबाट कति नजिक थिए वा उनी गाडीले ठक्कर खाएका थिए कि थिएनन् भन्ने स्पष्ट छैन। त्यसपछि उक्त एसयुभी अघि बढ्न खोज्दा ती एजेन्टले गोली चलाउँछन्।
त्यहाँ तीन पटक गोली चलेको आवाज सुनिन्छ। गाडी नियन्त्रण गुमाएर सडक छेउमा पार्क गरिएको अर्को गाडीमा ठोक्किन्छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै एक अध्यागमन अधिकारीलाई ‘निर्ममतापूर्वक’ गाडीले किचिएको दाबी गरेका छन्।
ट्रम्प प्रशासनले मिनेसोटाको मिनियापोलिस क्षेत्रमा थप २,००० संघीय एजेन्ट तैनाथ गरेको छ। बुधबारको पत्रकार सम्मेलनमा मेयरले त्यस्ता एजेन्टको उपस्थितिले सहर असुरक्षित भएको बताएका छन्। ‘उनीहरू परिवार फुटाइरहेका छन्, हाम्रो सडकमा अराजकता फैलाइरहेका छन्,’ उनले भने।
प्रतिक्रिया