काठमाडौँ । राष्ट्रियसभामा रिक्त हुन लागेको १८ सदस्यका लागि हुने निर्वाचन प्रक्रिया आजबाट औपचारिक रूपमा अघि बढेको छ ।
आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।
निर्वाचन कार्यतालिकाअनुसार पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम उम्मेदवार नामावली प्रकाशन गरिनेछ । यस्तै, पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।
मतदान भने माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका १८ सदस्यको कार्यकाल समाप्त हुँदैछ ।
राष्ट्रिय जनगणना २०७८ का आधारमा मतदाता र मतभार निर्धारण भइसकेको आयोगले जनाएको छ । यस निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरू मतदाता रहने व्यवस्था छ ।
आयोगले यसअघि पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको थियो । त्यसपछि मंगलबार मतदाता नामावलीमा कुनै दाबी–विरोध परे नपरेको यकिन गर्दै अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया