काठमाडौं । अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा कम्तिमा ४० जनाको मृत्यु भएको न्युयोर्क टाइम्सले जनाएको छ ।
शनिबार अमेरिकाले राजधानी काराकास लगायतका शहरहरूमा आक्रमण गरेर राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई अमेरिकाले न्यूयोर्क पुर्याएर हिरासतमा राखेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा मानवीय क्षति नभएको बताएका थिए । तर न्यूयोर्क टाइम्सले आइतबार प्रकाशित गरेको एक रिपोर्टअनुसार अमेरिकी सेनाले राष्ट्रपति निकोलस मादुरोलाई ‘अपहरण’ गर्ने उद्देश्यले भेनेजुएलामा गरेको सैन्य आक्रमणमा सर्वसाधारण र सैनिकहरु मारिएका छन् ।
नाम नखुलाउने शर्तमा भेनेजुएलाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ, ‘अमेरिकी आक्रमणमा सर्वसाधारण र सैनिकसहित कम्तीमा ४० जनाको ज्यान गएको छ ।’
अमेरिकी अधिकारीहरूले उक्त अखबारलाई बताएअनुसार, आक्रमणमा ठूलो स्तरको हवाई अभियान समावेश थियो, जसको उद्देश्य भेनेजुएलाको हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पार्नु थियो, ताकि त्यसपछि स्थल सेनाको परिचालन गर्न सकियोस् ।
‘१५० भन्दा बढी अमेरिकी विमान प्रयोग गरी हवाई प्रतिरक्षा प्रणाली ध्वस्त पारियो, त्यसपछि सैन्य हेलिकोप्टरमार्फत सैनिकहरू पठाइए र उनीहरूले मादुरो बसेको घरमा आक्रमण गरे,’ अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्टमा लेखिएको छ ।
अमेरिकाको ह्वाइट हाउस वा पेन्टागनबाट मृतकको संख्या वा अपरेसनको पूर्ण विवरणबारे तत्काल कुनै सार्वजनिक पुष्टि भएको छैन ।
अमेरिकी सेनाले शनिबार बिहानै मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिई भेनेजुएलाबाट बाहिर लगेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई रातारात गरिएको सफल अपरेसन भनेका छन् ।
ट्रम्पले ‘सुरक्षित, उपयुक्त र विवेकपूर्ण सत्ता हस्तान्तरण’ सुनिश्चित नहुँदासम्म संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको प्रशासन सञ्चालन गर्ने पनि बताएका छन् । हाल भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी छन् ।
न्युयोर्कको दक्षिणी जिल्लाका संघीय अभियोजकहरूले शनिबार बिहानै अभियोग पत्र सार्वजनिक गर्दै मादुरो र फ्लोरेसमाथि अमेरिकामा लागुऔषध कोकिन तस्करी गरेको लगायतका विभिन्न आपराधिक आरोप लगाएका छन् ।
आलोचकहरूले भने अमेरिकाको आक्रमणले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको, अमेरिकी कंग्रेसलाई छलेर गरिएको र यसले भेनेजुएला मात्र होइन, समग्र क्षेत्रमै थप अस्थिरता निम्त्याउने जोखिम रहेको चेतावनी दिएका छन् ।
प्रतिक्रिया