• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    आजबाट अंग्रेजी नयाँ बर्ष सन् २०२६ प्रारम्भ

    259
    SHARES



    काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार आजबाट इस्वी संवतको अंग्रेजी नयाँ बर्ष सन् २०२६ प्रारम्भ भएको छ ।

    येशु ख्रिस्टको जन्मवर्षलाई आधार मानेर पादरी ग्रेगोरियनले तयार पारेको यो पात्रो विश्वका धेरै मुलुकमा प्रचलनमा रहेकाले यसलाई ग्रेगोरियन पात्रो भनिन्छ । नयाँ वर्षको अवसरमा यो पात्रो अनुसरण गर्नेहरूले आज शुभकामना साटासाट गर्दै विभिन्न कार्यक्रममार्फत उत्सव मनाइरहेका छन् ।

    इस्वी संवत् पूर्ण रूपमा सौरमासको आधारमा निर्माण गरिएको पात्रो हो । यही कारणले केही विद्वान्हरूले यसलाई चन्द्रमासको समायोजन नभएकाले पूर्ण रूपमा वैज्ञानिक नभएको टिप्पणी पनि गर्ने गरेका छन् । यद्यपि, समयक्रमसँगै यसको प्रयोग विश्वव्यापी रूपमा फैलिँदै गएको छ ।

    विभिन्न संवत् र पात्रोको अध्ययन–अनुसन्धानमा संलग्न डा. शास्त्रदत्त पन्तका अनुसार सौरमास र चन्द्रमासको संयोजनबाट वैदिक कालदेखि विकसित भएको विक्रम संवत् इस्वी संवत्को तुलनामा बढी वैज्ञानिक मानिन्छ । तर व्यवहारिक प्रयोग र अन्तर्राष्ट्रिय प्रभावका कारण इस्वी संवत् विश्वस्तरमा प्रभावशाली बन्दै गएको उनी बताउँछन् ।

    एक वर्षको अवधि ३६५ दिन ६ घण्टा ४९ मिनेट ६ सेकेन्ड हुने भए पनि दिनभन्दा साना एकाइहरू दैनिक प्रयोगमा नसमेटिने भएकाले समय गणनामा अन्तर पैदा हुन्छ । त्यसलाई मिलाउन विक्रम संवत्मा तीन वर्षमा एकपटक अधिक मासको व्यवस्था गरिएको छ । इस्वी संवत्मा भने ‘लिप इयर’ को अवधारणा ल्याएर समय समायोजन गर्ने प्रयास गरिएको भए पनि यस विषयमा पश्चिमा मुलुकहरूमा समेत पूर्ण सहमति हुन नसकेको डा. पन्तको भनाइ छ ।

    पछिल्ला वर्षहरूमा नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष मनाउने चलन उल्लेख्य रूपमा बढ्दै गएको छ । विशेषगरी विदेशी पर्यटकको चहलपहल बढी हुने काठमाडौँको ठमेल र बौद्ध क्षेत्र, साथै पोखरा, सौराहा लगायतका पर्यटकीय गन्तव्यहरूमा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरी सन् २०२६ को स्वागत गरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ