काठमाडौँ । कक्षा कोठाबाट सुरु भएको मेहनत, प्रयोगशालामा हुर्किएको नवप्रवर्तन र अन्तर्राष्ट्रिय मञ्चमा प्राप्त मान्यताले वर्ष २०२५ युनिग्लोब कलेजका लागि उपलब्धिहरूको वर्ष बन्यो । शैक्षिक गुणस्तरदेखि अनुसन्धान र प्रविधिसम्म युनिग्लोबले यो वर्ष आफूलाई उत्कृष्ट उच्च शिक्षण संस्थाका रूपमा थप मजबुत रूपमा स्थापित गरेको छ ।
वर्ष २०२५ को महत्वपूर्ण उपलब्धिका रूपमा युनिग्लोब कलेजले नेपाल सरकारअन्तर्गत विश्वविद्यालय अनुदान आयोग (UGC) बाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्रमाणपत्र प्राप्त गरेको छ । यसले कलेजको शैक्षिक मापदण्ड, सुशासन, पूर्वाधार र विद्यार्थी केन्द्रित शिक्षाप्रणालीलाई औपचारिक मान्यता दिएको छ ।
शैक्षिक उपलब्धिको अर्को उज्यालो पक्ष पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहमा देखियो । युनिग्लोब कलेजका विद्यार्थीहरूले विभिन्न विधामा १४ वटा स्वर्ण पदक जित्दै कलेजकै इतिहासमा कीर्तिमान कायम गरे । यो सफलता विद्यार्थीहरूको निरन्तर परिश्रम र प्राध्यापकहरूको मार्गदर्शनको परिणाम मानिएको छ ।

अनुसन्धान र ज्ञान आदान–प्रदानको केन्द्रका रूपमा युनिग्लोबको पहिचान अझ बलियो बनाउने काम १४ औँ युनिग्लोब अन्तर्राष्ट्रिय सम्मेलनले गर्यो । ‘व्यवसाय र प्रविधिमा नयाँ आयाम तथा नवप्रवर्तन’ विषयमा आयोजित सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शिक्षाविद्, अनुसन्धानकर्ता तथा उद्योग क्षेत्रका विज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
त्यसैगरी, प्रविधि र नवाचारलाई व्यवहारसँग जोड्ने उद्देश्यले युनिग्लोब कलेजले आईटी एक्स्पोको सुरुवात गर्यो । आईटी एक्स्पो विद्यार्थी, स्टार्टअप, प्रविधि व्यवसायी तथा उद्योगका पेशेवरहरूका लागि उदीयमान प्रविधि र डिजिटल समाधानबारे बुझ्ने र सहकार्य गर्ने साझा मञ्च बनेको छ ।

QAA प्रत्यायन, स्वर्ण पदकमा कीर्तिमान, अन्तर्राष्ट्रिय सम्मेलन र आईटी एक्स्पोको सफल आयोजनासँगै वर्ष २०२५ युनिग्लोब कलेजका लागि उपलब्धि र गौरवको वर्षका रूपमा स्मरणीय बनेको छ ।

अवसरमा युनिग्लोब कलेजले विद्यार्थी, प्राध्यापक, कर्मचारी, पूर्वविद्यार्थी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै आगामी वर्ष अझ बढी शैक्षिक उत्कृष्टता, नवप्रवर्तन र समृद्धिको लक्ष्यसहित अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया