काठमाडौँ । सोमबार अपराह्न बौद्धको अन्तरा होटलमा उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको थियो । उक्त बैठकमा पार्टीको संरक्षक समेत रहेका कुलमान घिसिङ समेत सहभागी थिए ।
त्यसैबेला सुदन गुरुङ होटलमा पुगे । उनले कुलमानलाई ‘फेरि मिल्नुपर्छ’ भन्दै छलफलमा जान आग्रह गरे । फाइनल लिस्ट तयार भइरहेको अवस्थामा फेरि छलफलमा जुट्न आनाकानी गरिरहेका थिए कुलमान । तर, सुदनले छाडेनन् । उनलाई हात समातेर लगेपछि कुलमान केन्द्रीय समितिबाट बाहिरिएका थिए ।
अहिले उज्यालो नेपाल पार्टीले ११० जनाकै अन्तिम सूची तयार पारिसकेको छ । सूची बुझाउने अन्तिम म्याद आज भएको र पाँच बजेभित्र पत्र दर्ता गरिसक्नुपर्ने भएकोले अहिले उज्यालो नेपाल पार्टीका प्रतिनिधिहरू अहिले निर्वाचन आयोगमा पुगिसकेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
उनका अनुसार अहिले उज्यालोले समानुपातिक सूची दर्ताका लागि शुल्क बुझाएर निस्सा लिइसकेको छ । सूची तयार भए पनि अहिलेसम्म बुझाइसकेको छैन ।
अहिले कमलपोखरीमा रास्वपा सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र घिसिङबिच अन्तिम वार्ता भइरहेको छ । उक्त वार्ताको निष्कर्षका आधारमा सूची बुझाउने कि नबुझाउने निश्चित हुने उनको भनाइ छ ।
प्रतिक्रिया