काठमाडौँ । उपसभामुख इन्दिरा रानामगरले सङ्घीय संसद् सचिवालयबाट बिदा भएकी छन् ।
सङ्घीय संसद् सचिवालयमा रहेको आफ्नो निजी सचिवालयलाई आफूले प्रयोग गरेको गाडी बुझाएर फर्किएको जानकारी पाएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए ।
निजी सचिवालयले भने गाडी बुझाएको जानकारी आइनसकेको प्रवक्ता गिरीले रातोपाटीलाई जानकारी दिए ।
संविधानमा प्रतिनिधिसभा विघटन भएको अवस्थामा अर्को निर्वाचनका लागि उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिन सभामुख उपसभामुखको कार्यकाल सकिने उल्लेख छ ।
संविधानमा स्पष्ट नभएकाले उम्मेदवारी दाखिला गर्ने दिन समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाउने अघिल्लो दिन मान्ने कि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन मान्ने भन्नेमा विवाद छ ।
यता सभामुख देवराज घिमिरेले भने प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन छोड्ने जानकारी उनको सचिवालयले गराएको छ ।
निर्वाचन आयोगले समानुपातिक तर्फको सूची बुझाउने पुस १३ र १४ गते तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने माघ ६ गतेका लागि मिति तोकेको छ ।
प्रतिक्रिया