काठमाडौं । उज्यालो नेपाल पार्टीले रास्वपाले अघि सारेको प्रस्ताव अस्वीकार गरेको छ । शनिबार दिउँसो १ बजेदेखि काठमाडौंको एक होटलमा बसेको पार्टी केन्द्रीय समितिको बैठकले रास्वपाको प्रस्ताव अस्वीकार गर्ने र एकताको प्रयासमा थप गृहकार्य गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, रास्वपाले सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा कुलमान घिसिङ र प्रधानमन्त्रीमा बालेन शाहलाई अघि सार्ने प्रस्ताव गरेको थियो ।
उक्त प्रस्तावबारे संरक्षक समेत रहेका ऊर्जामन्त्री कुलमान घिसिङले बैठकमा ब्रिफिङ गरेका थिए । तर, रास्वपाको उक्त प्रस्तावमा अघि बढ्न नसक्ने निष्कर्ष निकाल्दै एकताको बाँकी संवाद गर्ने जिम्मेवारी अध्यक्षलाई प्रदान गर्ने निर्णय सो पार्टीले गरेको छ ।
बैठक स्रोतका अनुसार, पार्टीको नाम र चुनाव चिन्हमा रास्वपाको प्रस्तावमा उज्यालो पार्टीले फरक मत राखेको छ । रास्वपाले पार्टीको नाम रास्वपा र चुनाव चिन्ह घण्टी नै लिएर निर्वाचनमा जानुपर्ने प्रस्ताव अघि सारेको थियो । त्यसबारे पनि संरक्षक घिसिङले ब्रिफिङ गरेका थिए ।
जसमा पुनर्विचार गरेर मात्रै निर्णय लिने उज्यालो पार्टीको अडान छ । पार्टी निर्णयहरू सार्वजिनक गर्दै सो पार्टीले सहअस्तित्वको विषयलाई मुख्य बुँदा बनाएको छ ।
‘सबैको सहअस्तित्वलाई स्थापित हुनेगरी उज्यालो नेपाल पार्टी सदैब एकताको पक्षमा रहेको आवस्यक सहकार्यका लागि सबै वैकल्पिक तथा अग्रगामी राजनितीक दललाई आह्वान गर्ने निर्णय गरियो,’ पार्टी निर्णयमा भनिएको छ ।
घिसिङले आजैमात्र काठमाडौं आयोजित पार्टीको एक कार्यक्रममा कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने बताएका थिए ।
प्रतिक्रिया