काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको प्राथमिकता संसद पुनर्स्थापना होइन, निर्वाचन नै भएको बताएका छन्।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटवार्तामा कांग्रेस सभापति देउवाले उक्त कुरा बताएका हुन्। उनले नेपाली कांग्रेस निर्वाचनको तयारीमा जुटिसकेको पनि उल्लेख गरेका छन्।
सञ्चारमन्त्री खरेलले शुक्रबार कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
उक्त भेटवार्तामा देउवाले कांग्रेसको प्राथमिकता संसद पुनर्स्थापना होइन, निर्वाचन नै हो भनेर स्पष्ट रूपमा बताएको सञ्चारमन्त्री खरेलले जानकारी दिए।
‘निर्वाचनको वातावरण बनाउन उहाँले सरकारसँग आग्रह गर्नुभएको छ। सुरक्षाको वातावरण बनाउनुपर्यो भन्ने चासो उहाँको रहेको छ,’ मन्त्री खरेलले भने, ‘निर्वाचन सम्पन्न गराउन नेपाली कांग्रेसले सम्पूर्ण सहयोग गर्छ भन्ने उहाँको भनाइ रहेको छ।’
प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका निवर्तमान सांसदहरूको हस्ताक्षर सर्वोच्च अदालत पुगेपछि निर्वाचनलाई लिएर कांग्रेसको लाइन के हो भन्नेमा अन्यौल उत्पन्न भएका बेला देउवाको यस्तो धारणा सार्वजनिक भएको हो।
कांग्रेसका कुल ८७ जना निवर्तमान सांसदमध्ये ६५ जनाको हस्ताक्षरसहित पूरक निवेदन सर्वोच्च अदालत पुगेको छ।
यसअघि कांग्रेसको विघटित प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित ८ जनाले मंसिर २३ गते सर्वोच्चमा रिट दर्ता गरेका थिए। उक्त रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ।
प्रतिक्रिया