• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    नवयुवालाई नेतृत्व र प्रतिनिधित्वको अग्रपंक्तिमा ल्याउन हरिबोल गजुरेलको आह्वान

    382
    SHARES



    विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका नेता हरिबोल गजुरेलले पार्टीको आन्तरिक संकट समाधान गर्न र नयाँपुस्ताको आकांक्षालाई सम्बोधन गर्न आह्वान गरेका छन् । जेनजी आन्दोलनलाई केन्द्रमा राख्दै उनले कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गर्न एक ‘संक्रमणकालीन विशेष नीति’ को प्रस्ताव गरेका हुन् ।

    सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले अबको आवश्यकता केवल संगठनात्मक पुनर्संरचना मात्र नभई नेपाली विशेषतासहितको समाजवादी क्रान्तिको स्पष्ट कार्यदिशा तय गर्ने निर्णायक क्षण भएको बताएका छन् ।

    नेता गजुरेलले हालैका युवा आन्दोलनहरूलाई सन् १९०५ को रूसी विद्रोहसँग तुलना गर्दै यसलाई नयाँ विश्व परिवेशअनुसारको समाजवादी रूपान्तरणको पूर्वाभ्यासका रूपमा बुझ्नुपर्नेमा जोड दिएका छन् । उनले यो पुस्ताले उठाएका प्रश्नहरूलाई औपचारिक समर्थन मात्र गरेर पुग्दैन, बरु उनीहरूको मर्म र भावनालाई व्यवहारमा उतार्नु नै नेतृत्वको वास्तविक परीक्षा भएको बताए ।

    संविधान निर्माणपछिका विभिन्न चरणमा राजकीय जिम्मेवारीमा रहेकाहरूका कामकारबाहीप्रति नयाँ पुस्ताले गम्भीर प्रश्न उठाएको भन्दै उनले संस्थागत समीक्षा र आत्मालोचनासहित नेतृत्वको मूल टिम यो पुस्तासँग अन्तरघुलन हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।

    यस क्रममा गजुरेलले एउटा अत्यन्तै ठोस र चुनौतीपूर्ण प्रस्ताव अघि सारेका छन् । उनले आगामी संघीय निर्वाचनमा अपवादबाहेक पूर्वप्रधानमन्त्री, मन्त्री तथा सांसदहरूलाई प्रत्यक्ष वा समानुपातिक उम्मेदवार नबनाई ‘संक्रमणकालीन विशेष नीति’ अवलम्बन गर्नुपर्ने बताएका छन् ।

    पुराना र अनुभवी नेताहरूले अब चुनावी प्रतिस्पर्धामा लाग्नुको साटो पार्टीको वैचारिक निरन्तरता कायम राख्ने, संगठनात्मक अनुभव सम्प्रेषण गर्ने र संस्थागत स्मृतिको संरक्षण गर्ने भूमिकामा केन्द्रित हुनुपर्ने उनको तर्क छ । संघीय संसद्का उम्मेदवारका रूपमा नयाँ अनुहार, नयाँ सोच र नयाँ क्षमताको चयनलाई उनले अनिवार्य सर्तका रूपमा अघि सारेका हुन् ।

    समानुपातिक प्रणालीमार्फत पार्टीभित्र र बाहिरका योग्य, प्रतिबद्ध र जनसरोकारसँग गाँसिएका क्षमतावान् व्यक्तिहरूलाई अगाडि ल्याउनु आजको मुख्य माग भएको उनको दाबी छ । विखण्डित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्दै जनअपेक्षा पूरा गर्नु आजको प्रमुख दायित्व भएको उल्लेख गर्दै गजुरेलले जेनजी आन्दोलनले राजनीतिलाई प्रश्न मात्र नभई उत्तर खोज्न समेत बाध्य बनाएको बताएका छन् ।

    उनले अब इतिहास टार्ने होइन, निर्माण गर्ने घडी आएको उद्घोष गर्दै यही बाटो नै कम्युनिस्ट आन्दोलनको पुनर्जागरण र राष्ट्रको समग्र विकासको आधार भएको बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ