काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनको पक्षमा आफूहरू सरकारको साथमा रहेको प्रतिबद्धता जनाएका छन् । जेलबाट रिहाइ भएपछि आइतबार केन्द्रीय कार्यालय वनस्थली पुगेका उनले जेनजीको माग पुरा गर्ने सर्तमा रास्वपाले सरकारलाई साथ दिने प्रतिबद्धता जनाएका हुन् । उनले निर्वाचनमा जानुको विकल्प नभएको पनि दोहोर्याएका छन् ।
‘निर्वाचनमा जानुको विकल्प छैन । साथै जेनजीले उठाएका माग पुरा गर्नुको पनि विकल्प छैन । जेनजीको माग पुरा गर्ने, सुशासन खडा गर्ने र निर्वाचन गराउने विषयमा सरकारले एक्लै छु भन्नुपर्दैन ।
रास्वपा उभिएको छ’, उनले भने, ‘तर सरकारले यो पनि बुझ्नुपर्छ कि यो निशर्त होइन । हामीले स्वार्थ बोकेका छैनौँ । जुन उद्देश्यका लागि कलिला भाइबहिनीहरूले ज्यान गुमाए । त्यसलाई बिर्सन पाइँदैन । त्यो सँगै निर्वाचन सम्पन्न गर्नुपर्नेछ ।’
उनले भागेका केही शक्तिहरू निर्वाचन बिथोल्न लागेको आरोप समेत लगाए । उनीहरू आफ्नै मान्छे खटाएर घटना घटाउने काममा लागेको उनले जिकिर गरे ।
पार्टी कार्यालयमा रविको सम्बोधन-
हामी यसलाई उत्साहको रुपमा लिन सक्छौं । उत्सव मनाउन सक्दैनौं । तपाईंहरूले एउटा उल्लाह, उत्साह देखाउनुभएको छ । उत्सव मनाउने बेला छैन । किनकी कलिला केटाकेटीहरूको रगत चुहिएको छ । अहिले यो देश कोलाहाल भएको अवस्थामा आएको हो । त्यसैले मेरो उपस्थितिलाई यहाँहरूले अलिकति उत्साहको रुपमा त पक्कै लिनुभएको छ होला । कसैले पनि यसलाई उत्सव मनाएको अर्थमा बुझ्नुहुने छैन भन्ने म जानकारी गराउन चाहन्छु ।
राजनीतिको यो मैदानमा पछिल्लो राजनीतिक परिवर्तनमा एउटा मान्छेलाई सानो राज्य संयन्त्र र भए भरका राज्य संयन्त्र एकजुट भएर एक्लाउन खोजेको यो कुरा इतिहासले बिर्सन सक्दैन । र इतिहासले यो पनि प्रमाणित गरेको छ, आजसम्म जनताको तागतका अगाडि कसैको तागत चल्ने छैन । मलाई जनताको तागतमा विश्वास छ । यसबीचमा मैले विभिन्न क्षेत्रका व्यक्तिसँग भेटघाट गरेँ । मुलुकमा संकट र्सिजना भएका कारणले हामीले जिम्मेवारीपूर्वक अघि बढ्नुपर्नेछ ।
मलाई एउटा कुरामा विश्वास छ आजसम्म सत्य हारेको छैन, त्यसकारण रास्वपा हार्दैन भन्ने कुरामा मलाई विश्वास छ । मैले यो विश्वास जिल्लैपिच्छे मुद्दा लगाउँदा पनि छाडेको छैन । कारागारमा जाँदा पनि छाडेको छैन । मध्यरातमा गिरफ्तार गर्दा पनि छाडेको छैन । कुनै धम्की आउँदा पनि मैले छाडेको छैन । यही मात्रै विश्वास छ । मसँग बाँकी रहेको भनेको एक मुठ्ठी सासमात्रै हो । अरु म सँग केही पनि बाँकी छैन ।
तर मलाई के थाहा छ भने सत्यको साथ र सत्यको साहस भयो भने बाँकी केही चिज चाहिँदा पनि चाहिँदैन भन्ने कुरा म राम्रोसँग जान्दछु । म यो संगिन मोडमा बसेर कसैप्रति कटाक्ष गर्ने मुडमा फिटिक्कै छैन । म कसैलाई कटाक्ष गरेर र कसैलाई हिलो छ्यापेर आफू सफल होइन्छ भन्ने कुरामा विश्वास पनि राख्दिनँ । तर कसैले अनाहकमा छ्यापेको हिलोलाई मैले आम नागरिकसमक्ष पुस्नैपर्छ । मैले बताउनैपर्छ । त्यसैले यो लडाईंमा यहाँहरूले हाम्रो एउटा आह्वानमा जुन साथ दिनुभयो, जुन हौसला दिनुभयो । विशेषगरी हस्ताक्षर अभियानमा अन्याय परेको कुरालाई अनुमोदन गरि ४० लाख जनताले एकै स्वरमा तपाईं एक्लो हुनुहुन्न भनेर मलाई भन्नुभयो, म त्यसका लागि ऋणी रहनेछु ।
राजनीतिक दलका रुपमा हामीमाथि भएका प्रहार र आक्रमणहरू तपाईंहरूले देख्नुभएको छ । यसबीचमा पनि यस्तो चौतर्फी हमलाका बीचमा पनि पार्टीलाई अझै अगाडि बढानका निमित्त पार्टीलाई सशक्त बनाउनका लागि उत्साह र जाँगरलाई एक इन्च घट्न नदिइकन मेरो अनुपस्थितिमा पार्टीलाई अझै लोकप्रियताको चुलीमा पुर्याउन र नेपाली जनताको मायालाई कायम राख्नका निमित्त आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका कार्यबाहक सभापति डिपी अर्याललाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । चारै तिरबाट वाणैवाण हानेका बेलामा पार्टीलाई यहाँसम्म पुर्याउनु सानो चुनौतीको विषय होइन । उहाँका साथमा म सँगै उभिएका र अझै पनि जनताको घरदैलोमा पुग्नुभएका साथीहरूको यागदानलाई म बराबर सम्झना र धन्यवाद ज्ञापन गर्छु ।
यात्राका क्रममा हामीले सबै साथीभाइलाई समेट्न सकेनौं होला । तर, उहाँहरूले दिनुभएको योगदानको म सधैं स्मरण गरिरहनेछु । म धन्यवाद दिन चाहन्छु । हामीलाई सिकाएर जानुभएको छ । हामीलाई धेरै उपलब्धिमा साथ दिनुभएको छ । हामीले केही गर्न नसकेपनि उहाँहरूले दिनुभएको योगदान हाम्रो मनमा छ । यात्राका क्रममा जुनसुकै कारणले छुट्टिएर जानुभएका सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु । हामीले धेरै गर्न सकेनौं, उहाँहरूले धेरै गुन लगाएर जानुभएको छ ।
मुलुक परिवर्तनको संघारमा उभिएको छ । ठूलो विद्रोह भएको छ । यत्रो विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी छ । जेनजीले विद्रोह गरेको छ । क्रान्तिमा बदल्न बाँकी छ । जलेको सिंहदरबार त बनाउँला, तर सिंहदरबार बनाएर मात्रै हुँदैन, बदल्न बाँकी छ । हामीलाई विश्वास छ हाम्रो नेतृत्व र पुस्ताले भत्किएका जलेका संरचना बनाउने मात्रै होइन बदल्ने काम पनि गर्नुछ । यसमा हामी दत्तचित्त भएर लाग्नुपर्नेछ ।
मसँग धेरै सूचना त छैनन् । किनभने दुई दिनअघिसम्म कारागारमै थिएँ । तर यो छोटो समयमा पाएको सूचनाका आधारमा मैले थाहा पाएको छु, संसद् पुनर्स्थापनाको लागि मानिसहरू दौडधुप गर्न थाले रे ! कुन संसद् पुनर्स्थापनाको कुरा गरेको ? दुई तिहाइको दम्भ राखेर नेपाली जनतालाई बेच्ने संसद् फेरि ब्युँताउन खोज्नुभएको ? कुन संसद् ब्युताउँन खोज्नुभएको तपाईंले ? जनताका मुद्दा बोल्दाबोल्दै माइक काट्ने संसद् फेरि ब्युँताउन खोज्नुभएको ? कुन संसद् ब्युताउँन खोज्नुभएको ? भ्रष्टाचारका काण्डमा छानबिन गर भनेर आवाज उठाउँदा छानबिन हैन संख्याको बलमा सामसुम पार्न खोज्ने संसद् ब्युँताउन खोज्नुभएको ?
भयो, देखियो तपाईंको दुई तिहाई तागत । यो कुरा बिर्सिएको छैन । चुनावसम्म बिर्सन नहुने कुरा चुनावपछि झन बिर्सन नहुने एउटा कुरा बताउँछु । यिनीहरूले कलिला केटाकेटीको रगत पिएका छन् । यसलाई हामी बिर्सन सक्दैनौं । यिनिहरूले ठूला कुरा गर्नु ठिक हुँदैन । म कटाक्षमा गएको होइन । तर खबरदारीको पुस्ताको हिसाबले हामीले यो कुरा गर्नैपर्ने हुन्छ । संयन्त्र, सरकार, मन्त्री, प्रधानमन्त्री कोको थिए ? उच्चस्तरीय संयन्त्र बनाएर त्यसलाई सघाउने को को थिए ? तिनीहरू सबैको अनुहारमा केटाकेटीको रगतको छिटा परेको छ । खबरदार । षडयन्त्रको श्रृङ्खला अब बन्द गर्नुहोला । धेरै आँखा नचम्काउनुहोला ।
म पार्टीको जिम्मेवारीमा फर्केको छु । मैले न्याय पाउन बाँकी छ । न्यायमा लडिरहनेछु । मैले भन्दै आएको कुरा फेरि दोहोर्याउन चाहन्छु । मैले आफ्नो न्यायका लागि त लड्नु छँदैछ, तर त्यो भन्दा धेरै सिंगो देशका लागि भएको अन्यायका लागि लड्नु महत्त्वपूर्ण छ । मलाई यहाँहरूको साथको आवश्यकता छ ।
मलाई यो पनि थाहा छ, कि पार्टीमा समावेश भएर हाम्रो अभियानलाई महाभियान बनाउनका लागि देश र विदेशमा भएका नेपाली एकजुट हुनुहुँदैछ । विभिन्न ठाउँबाट उदाउनुभएका नयाँ शक्तिहरू एक ठाउँमा आएर परिवर्तन गर्नुपर्छ भन्ने भावना पनि मैले बुझेको छु । मैले कारागारबाट पनि भनेको थिएँ, मैले आफ्ना राजनीतिक प्रतिवेदनबाट पनि भनेको थिएँ । परिवर्तनको यो यात्रामा एउटा पुस्तालाई न्याय दिने र इतिहास लेखिने कुरामा रास्वपा सँगै छ । विभिन्न भेटघाट निरन्तर चलिरहेका छन् । हामीले गर्ने परिवर्तन संस्थागत बनोस्, स्थायी बनोस् र पछिसम्मका लागि परिवर्तन गर्नसक्ने पार्टी बनोस् ।
अन्त्यमा,
देशलाई विभिन्न तहले कमजोर अवस्थामा पुर्याएको छ । यो कमजोर अवस्थामा पुर्याएको बेलामा ठाउँठाउँबाट खेल गरेर कमजोर बनाउन खोज्दै, आफ्नो रोटी सेक्न खोज्दै विभिन्न मान्छेहरू सलबलाएका छन् । म उनीहरूलाई नसलबलाउन अनुरोध गर्न चाहन्छु । कमजोर भएको बेलामा हामीले एकजुट भएर संरक्षण गर्ने बेला छ । लुज हुने बेला होइन । मुलुकलाई लुज बनाउन जरुरी छैन, हामीले जोगाउने होइन । कमजोर छ एक चोक्टा भए पनि पाइन्छ कि भनेर गिद्दे नजर लगाउन पाइँदैन । किनकी यसलाई जोगाउन रास्वपा र नयाँ शक्तिहरू उस्तै भए एकढिक्का भएर अघि बढ्न खोज्दैछन् ।
यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन । सँगै जेनजी पुस्ताले गरेको अपेक्षा पूरा गर्नुको विकल्प छैन । हामीले सरकारलाई भनेका छौं, जेनजीको माग पूरा गर्ने, सुशासन कायम गर्ने र निर्वाचन गराउने सन्दर्भमा सरकारले म एक्लै छु भन्नु पर्दैन रास्वपा खडा भएको छ । यो हाम्रो कुनै स्वार्थ छैन । जुन उद्देश्यका लागि जेनजी भाइबहिनीले रगत बगाए त्यसको सपना पूरा गर्नैपर्छ । निर्वाचन बिथोल्नका लागि भागेका केही शक्ति आफैं घटाउन पनि लागिरहेका छन् । चारतिर घटना घटाइदिने, आफ्नै मान्छे खटाइदिने अनि ऊ वातावरण बिग्रियो, सरकारले सम्हाल्न सकेन भनेर मुन्टो निकाल्न खोज्दैछन् । मुन्टो निकाल्न पर्दैन । चुनावको वातावरण बिगार्न पर्दैन । चुनावमा गए भइगो नि । पार्टीको चुनाव जितेजस्तै आम चुनाव पनि जिते भैगो । पछाडि हट्ने काम नगर्नुहोस्, बहादुरीका साथ अगाडि आउनहोस् । शुभकामना छ । तर, चुनाव बिथोल्न पाइँदैन । बालबालिकाको रगतमाथि खेलाँची गर्न पाइँदैन ।
हामी उत्साहित भएका छौं, तर उत्सव मनाएका होइन । फूलमाला जे दिनुभयो मैले यसलाई उत्साहको रुपमा ग्रहण गरेको छु, उत्सवको रुपमा होइन । किनकी हामीले शहीद भाइबहिनीको सपना पूरा नगरेसम्म हामी कुनै उत्सव मनाउनसक्ने वातावरणमा छैनौं । मुडमा छैनौं । फेरि पनि प्रवासमा रहेका साथीहरूलाई धन्यवाद दिन चाहन्छु । हामी तपाईंको मतदाधिकारका लागि हिजो पनि लड्यौं । आज पनि लडेका छौं । तपाईंको नोट चल्ने, भोट नचल्ने भन्ने हुँदैन । तपाईंको भोट चलाउनका निमित्त हामी निरन्तर लागिपरेका छौं । विदेशमा रहेका सबैले आफ्नो देशको नेतृत्व छान्न पाउनुपर्छ । विभिन्न तप्कामा रहेर साथ दिने सबैलाई धन्यवाद दिन चाहन्छु । म सञ्चारकर्मी साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । म कारागारमा रहँदा पनि तपाईंहरूको क्यामेरालो खोजिरहेको छ । हरेक पटकका गतिविधिलाई आम नागरिकसमक्ष पुर्याइदिनुभएको छ । म तपाईंहरूप्रति ऋणि छु । क्यामेराले जे खिचाउन चाह्यो त्यही खिच्छ । तर तपाईंहरूले नयाँ पुस्ताका लागि आवाज खिचिरहनुभएको छ । तपाईंको लेन्समार्फत पनि परिवर्तन सम्भव छ भन्ने कुरा देशले देखिरहेको छ, नयाँ पुस्ताले देखिरहेको छ ।
प्रतिक्रिया