• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    नोबेल पुरस्कार विजेता काजिताको प्रमुख आतिथ्यतामा त्रिविको ५१औँ दीक्षान्त समारोह

    402
    SHARES



    काठमाडौँ । देशकै जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयले नोबेल पुरस्कार विजेता जापानी प्राद्यापक ताकाआकी काजितालाई प्रमुख आतिथि बनाएर ५१औँ दीक्षान्त समारोहको तयारी गरेको छ । काजिताले सन् २०१५ मा भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन् ।

    जापानबाट फर्किएर त्रिविका उपकुलपति भएका प्राडा दीपक अर्यालको पहलमा काजिता दीक्षान्त समारोहमा सहभागी हुने भएका हुन् । पुस १० गते दशरथ रङ्गशालामा हुने ५१ औं दीक्षान्त समारोह नोबेल पुरस्कार विजेता काजिताको उपस्थितिले बिशेष र ऐतिहासिक बन्ने उपकुलपति प्राडा अर्यालले बिश्वास व्यक्त गरेका छन् । नोबेल पुरस्कार विजेताको सहभागिताले विश्वविद्यालयको अन्तरराष्ट्रिय गरिमा बढ्ने उनले बताए ।

    प्रधानमन्त्री एवं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीको अध्यक्षतामा शिक्षामन्त्री एवं सहकुलपति महावीर पुन र ४९ जना त्रिवि सिनेट सदस्यहरु गाउनसहित उपस्थित रहने समारोहको सञ्चालन रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले गर्ने तय भएको छ ।

    सह-परीक्षा नियन्त्रक कविराज पौड्यालले जनाए अनुसार यो शैक्षिक सत्रमा स्नातक देखि विद्यावारिधि सम्म उत्तीर्ण हुनेको संख्या ८९ हजार १ सय ९१ रहेको छ । उनीहरू सबै समारोहमा सहभागी हुन योग्य भएपनि १६ हजार ३ सय ८० जना विद्यार्थीले मात्र समारोहमा सहभागी हुन आवेदन दिएका छन् ।

    आवेदक मध्ये स्नातकमा ११ हजार २ सय ३४, अधिस्नातकमा १४, स्नातकोत्तर तहमा ४ हजार ८ सय ६० त्यसैगरी दर्शनाचार्यमा १ सय २० र विद्यावारिधिमा १ सय ५२ जना रहेका उनले बताए ।

    समारोहमा विभिन्न सङ्काय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा तथा १४ जना छात्रले पदकसमेत पाउनेछन् । समारोहमा २५ दीक्षान्त पदक तथा पुरस्कार वितरण गरिनेछ ।

    विश्वविद्यालयले एक विद्यार्थीका दुई जना अभिभावकलाई पनि समारोहमा सरिक हुनपाउने ब्यवस्था मिलाएको छ । सहभागी हुन २३ हजार ९ सय ८० जना अभिभावकको आवेदन दिएका छन् । विद्यार्थी, अभिभावक र अतिथि गरी करिब ४२ हजारको लागि सो दिन दशरथ रङ्गशालामा आवश्यक ब्यवस्थापन गरिएको समारोहको आयोजक परीक्षा नियन्त्रण कार्यालयले बताएको छ ।

    दीक्षित हुन योग्य भएकाको संख्या बढी भएपनि कम आवेदन पर्नुलाई विश्वविद्यालयले सामान्य मानेको छ । विद्यार्थीको कार्यब्यस्तता, पारिवारिक समस्या र भौगोलिक दुरी लगायतका कारण सहभागी संख्या घटबढ हुने विश्वविद्यालयले बताएको छ ।

    “दीक्षित हुन आवेदन दिनेको संख्या कम भएर विश्वविद्यालयमा आकर्षण घटेको भन्नू हुँदैन ।” रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले भने, “हाम्रा अध्ययन संस्थानहरुले विद्यार्थीको चाप बढी भएर भर्ना लिन सकेका छैनन् ।”

    विश्वविद्यालयले दीक्षान्त समारोहलाई उत्सवको रुपमा मनाउने र सर्वाधिक विद्यार्थी रहेको त्रिविको अन्तर्राष्ट्रिय गरिमा बढाउन सबै क्षेत्रबाट सकारात्मक सहयोग हुने अपेक्षा गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ