• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    टिम ईश्वरका गोकर्ण र योगेश, जसले जोगाए एमालेमा प्रतिपक्षी साख

    262
    SHARES



    Yogesh and Gokarna - 1

    काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनको निर्वाचन परिणामले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टिमको वर्चश्वलाई अझ बलियो बनाएको छ। तर यही शक्तिशाली टिमबीच पनि ईश्वर पोखरेल समूहबाट गोकर्ण विष्ट र योगेश भट्टराई निर्वाचित हुँदै एमालेभित्रको संगठित प्रतिपक्षी धारलाई जोगाउन सफल भएका छन्।

    १९ सदस्यीय पदाधिकारी टिममा ईश्वर पोखरेल पक्षबाट दुई जनाले मात्रै जित हासिल गर्दा उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई निर्वाचित भएका हुन्। यी दुई नेताको जितलाई एमालेभित्र ओली टिमबाहेकको राजनीतिक धार जीवित रहेको संकेतका रूपमा हेरिएको छ।

    एमालेका पाँच उपाध्यक्षमध्ये गोकर्ण विष्टले १३६८ मत प्राप्त गर्दै चौथो स्थानमा उपाध्यक्ष जिते। उनी लामो समयदेखि पार्टीभित्र ‘१० बुँदे पक्षधर’ नेताका रूपमा चिनिँदै आएका छन्। माधवकुमार नेपाल नेतृत्वको समूह पार्टी विभाजनतर्फ जाँदा ओलीसँग १० बुँदे सहमति गरेर एमालेमै रहेका विष्ट यसपटक भने ईश्वर पोखरेल–सुरेन्द्र पाण्डे टिमबाट ओली नेतृत्वलाई महाधिवेशनमै चुनौती दिने रणनीतिमा अग्रसर थिए।

    पूर्वमन्त्रीसमेत रहेका विष्ट एमालेको भ्रातृसंस्था युवा संघ नेपालका पूर्व अध्यक्ष हुन्। दशौँ महाधिवेशनबाट सचिव बनेका उनी यसपटक उपाध्यक्षमा उक्लिएका छन्।

    त्यस्तै, उपमहासचिवमा निर्वाचित योगेश भट्टराईले १३४८ मत प्राप्त गर्दै तेस्रो स्थानमा पदाधिकारी चयन भए। ताप्लेजुङका भट्टराई पनि दशौँ महाधिवेशनबाट सचिव बनेका नेता हुन्। अनेरास्ववियुको पृष्ठभूमिबाट उदाएका उनी अखिलका पूर्व अध्यक्षसमेत हुन्।

    महाधिवेशनअघि योगेश र ओली पक्षबीच सम्बन्ध चिसिएको चर्चा चल्दै आएको थियो। ताप्लेजुङमा चुनावी अभियानका क्रममा अध्यक्ष ओलीले गएर भाषण गरे पनि पछि सहयोग नगरेको भन्दै तत्कालीन राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जालमार्फत योगेशमाथि कटाक्ष गरेका थिए। तर ११ औँ महाधिवेशनमा उनै रिमाललाई पछाडि पार्दै योगेश उपमहासचिव निर्वाचित हुन सफल भए।

    निर्वाचनपछि भट्टराईले सामाजिक सञ्जालमार्फत ईश्वर पोखरेल र सुरेन्द्र पाण्डेको खुलेर प्रशंसा गरेका छन्। उनले लेखेका छन्,
    ‘कमरेड ईश्वर पोखरेल, कमरेड सुरेन्द्र पाण्डे— तपाईंहरूको इमान, निष्ठा र साहसको उच्च सम्मानसहित सलाम गर्दछु। टिमका सम्पूर्ण कमरेडहरूको एकता र सहकार्यप्रति आभारी छु। सम्पूर्ण प्रतिनिधि तथा पार्टीका तमाम कमरेडहरूमा हार्दिक धन्यवाद। पार्टी सदस्य तथा आम जनसमुदायको निगरानी र परीक्षामा सदा रहिरहने छु।’

    महाधिवेशनको परिणामले ओली नेतृत्वको वर्चश्वलाई बलियो बनाएको भए पनि गोकर्ण विष्ट र योगेश भट्टराईको जितले एमालेभित्र वैकल्पिक धार र आन्तरिक प्रतिपक्षी राजनीतिको स्पेस अझै जीवित रहेको सन्देश दिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ