काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व छान्न बिहानदेखि भइरहेको मतदान क्रममा लामो समयदेखि पर्खनुपरेकाले केही मतदाता बेहोस भएका छन्।
मतदान प्रक्रियामा भइरहेको ढिलाइबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही मतदाता बेहोस हुने स्थिति आएको जानकारी दिए।
मतदान सक्न लामो समय लागेकाले तीन-चार जना बेहोस भएको थाहा भएको छ। बेहोस हुने को को हुन् भन्ने पत्रकार सम्मेलनमा जानकारी दिइएन।
मतदाताहरू बेहोस हुने स्थिति आएपछि लामो समय उभिन नपरोस् भनेर टोकन बाँड्न थालिएको छ। लाइनमा बसेका र नबसेका महाधिवेशन प्रतिनिधिलाई पनि टोकन बाँडिएको र त्यही टोकनका आधारमा मतदान गर्न बोलाउने तयारी छ।
एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले बुधबार साँझ ५ बजेर २ मिनेट जाँदासम्म ८०२ जनाले भोट हालेको र मतदान रातभरि चल्ने जानकारी दिएका छन्। उनले प्रतिव्यक्ति २० देखि २५ मिनेटमा भोट हाल्न सकिने अनुमान गरिएकोमा सोचेभन्दा बढी समय लागेको बताए।
‘हामीले एक जना प्रतिनिधिलाई भोट हाल्न २० देखि २५ मिनेट लाग्ला र ८-साढे ८ घन्टामा सकिएला भन्ने अनुमान गरेका थियौं। तर व्यवहारले त्यो पुष्टि भएन। यो प्राविधिक ज्ञानले उत्पन्न गराएको समस्या हो,’ उनले पत्रकार सम्मेलनमा भने, ‘नाम सूची हेरेर भोट खसाल्नुपर्ने भएकाले पनि बढी समय लाग्यो।’
उनका अनुसार एक जना व्यक्तिलाई भोट हाल्न न्यूनतम ९ मिनेटदेखि अधिकतम २ घन्टासम्म लागेको छ। धेरै समय लागेकाले कतिपय मतदातालाई अप्ठ्यारो भएको हो।
जारी महाधिवेशनमा १९ जना पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि मतदान भइरहेको छ। यसमा भोट हाल्ने मतदाता २२६३ जना छन् भने उम्मेदवार ६२२ जना छन्।
बुधबार मतदान सुरू भएदेखि प्रतिघन्टा सय जना हाराहारीले भोट हालिरहेकाले २२६३ जना प्रतिनिधिलाई भोट हाल्न करिब २२ घन्टा लाग्ने देखिएको छ। मतदान बुधबार बिहान सवा ९ बजेबाट सुरू भएको थियो।
मतदान व्यवस्थापन गरिरहेको रामलक्ष्मण इनोभेसन प्रालिका लक्ष्मण रिमालले पनि सबै प्रतिनिधिको मतदान सक्न बुधबार बिहान ७ बजेसम्म समय लाग्ने बताएका छन्।
प्रतिक्रिया