काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार २६ सय अंकभन्दा तल झरेको छ। अघिल्लो दिनको तुलनामा १२.५० अंकले घट्दै नेप्से परिसूचक २५९४ अंकमा सीमित भएको हो।
दिनभरजसो बजार ओरालो यात्रामा रहँदा अधिकांश सूचकहरू राताम्मे देखिएका थिए। बजार घटे पनि कारोबार रकम भने केही बढेको छ। अघिल्लो दिन ३ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार ४ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भयो।
कारोबार भएका २५९ कम्पनीमध्ये ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९७ कम्पनीको घटेको छ। ६ कम्पनीको मूल्य भने स्थिर रह्यो। सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कममा सीमित रह्यो।
बैंकिङ समूह स्थिर रहँदा विकास बैंक ०.३४ प्रतिशत, फाइनान्स ०.७८, होटल तथा पर्यटन ०.८८, हाइड्रोपावर ०.९३, लगानी ०.६५, जीवन बीमा ०.८७, उत्पादन तथा प्रशोधन ०.७२, माइक्रोफाइनान्स ०.२७, निर्जीवन बीमा ०.२९, अन्य ०.४८ तथा व्यापार समूह ०.५९ प्रतिशतले घटे।
आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। स्वस्तिक लघुवित्त र एसवाई प्यानलको सेयर मूल्य १० प्रतिशतले बढ्यो। अपर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य ४.७० प्रतिशतले वृद्धि भयो।
घट्नेमा सिटी होटल अग्रस्थानमा रह्यो, जसको सेयर मूल्य ६.२६ प्रतिशतले घट्यो। श्रीनगर एग्रिटेकको ४.६५ प्रतिशत र लक्ष्मी लघुवित्तको ४.५५ प्रतिशतले मूल्य घट्यो।
कारोबार रकमका आधारमा आज कुमारी बैंक (संस्थापक), ङादी ग्रुप, शिवम् सिमेन्ट, श्रीनगर एग्रिटेक र बुटवल पावर कम्पनी अग्रस्थानमा रहे।
प्रतिक्रिया