काठमाडौँ । जेनजी अभियन्ताहरूले विदेशमा रहेका नेपाली नागरिकलाई भोट हाल्न दिने व्यवस्था तत्काल गर्न सरकार र निर्वाचन आयोगलाई माग गरेका छन्। शुक्रबार आयोगमा ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले २० लाखभन्दा बढी प्रवासी नेपालीलाई मतदान अधिकारको ग्यारेन्टी गर्न सरकार बाध्य हुने चेतावनी दिए।
अभियन्ता शिरिष साहीले विदेशमा बस्ने नेपालीको संख्या धेरै भएकाले उनीहरूलाई मताधिकारबाट वञ्चित राख्नु लोकतान्त्रिक मूल्यविरुद्ध जाने बताए। “एक राजनीतिक दलले पाउने मतभन्दा विदेशमा रहेका नेपालीकै संख्या धेरै छ। सबै नागरिकलाई मताधिकार सुनिश्चित हुनैपर्छ,” साहीले भने।
अर्की अभियन्ता प्रकृति ढकालले श्रोत–साधनको बहाना दिएर वर्षौँदेखि सरकार र आयोगले जिम्मेवारी टारिरहेको आरोप लगाइन्। उनले भनिन्, “नेपाल छोटो मुलुक होइन, नेपाली जहाँ छन् त्यहीँबाट मतदान गर्न पाउनुपर्छ। अब यो अधिकार रोक्ने छुट कसैलाई छैन।”
अभियन्ताहरूले अन्तरजिल्ला मतदान र प्रवासमा रहेका नेपालीको भोटाधिकार दुवै विषयलाई समेटेर आयोगलाई औपचारिक ध्यानाकर्षण पत्रसमेत दिएका छन्। विश्वका ११५ भन्दा बढी देशले प्रवासी नागरिकलाई मतदानको व्यवस्था गरिसकेको उदाहरण दिँदै उनीहरूले नेपालले पनि तुरुन्त कदम चाल्नुपर्ने माग गरेका छन्।
प्रतिक्रिया