काठमाडौँ । सर्वोच्च अदालतमा चलिरहेको मुद्दामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध रिट दायर गर्नेहरुलाई नै ‘मानसिक रोगी’ को संज्ञा दिएका छन्।
जेन जी आन्दोलनको दमन, किशोरकिशोरीको मृत्यु र सेना परिचालनमा लापरबाही गरेको आरोपमा दायर रिटमाथि सर्वोच्चमा बुझाएको लिखित जवाफमा ओलीले रिट दर्ता गर्ने पक्षलाई ‘मनोरोगग्रस्त’ संज्ञा दिँदै उनीहरूको मागलाई ‘न्यायिकरूपले अवैध र आधारहीन’ दाबी गरेका छन्।
उनले लिखित जवाफमा भनेका छन्, ‘सेना परिचालनको विषयमा जवाफदेही र जिम्मेवारी कानूनले निर्धारण गरेको अवस्थामा असम्वन्धित निकायलाई जिम्मेवार वनाई कारवाही गर्ने वा दोषारोपण गर्ने जस्ता कार्य गर्न र सो को माग गर्नु विपक्षीको मनोरोगको द्योतक भएको स्पष्ट छ।’
सुरक्षा परिषद्का तत्कालीन अध्यक्षसमेत रहेका ओलीले सेना परिचालन कार्यकारिणीको अधिकार भएको र त्यसमाथि अदालतले प्रश्न उठाउन नसक्ने दाबी गर्दै रिट खारेज गर्न माग गरेका छन्। तर उनले जेन जी आन्दोलनमा भएको दमन, बलप्रयोग र ज्यान जाने घटनाबारे भने कुनै उल्लेख गरेका छैनन्।
यसबाहेक, उनीमाथि दायर मुद्दाको जवाफका अधिकांश अंश प्रतिनिधिसभा विघटनको क्रममा अदालतमा बुझाएको पुरानै लिखित जवाफबाट ‘कपी–पेस्ट’ गरिएको भेटिएको छ।
त्यस क्रममा ओलीले आफूले सुसीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस नगरेको, र राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय नै असंवैधानिक रहेको दाबी गरेका थिए।
प्रतिक्रिया