• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    क्षतिग्रस्त केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि कांग्रेसले थाल्यो आर्थिक संकलन

    89
    SHARES



    काठमाडौं । जेनजी आन्दोलनमा आगजनीबाट क्षतिग्रस्त भएको पार्टी केन्द्रीय कार्यालय भवन पुनर्निर्माणका लागि नेपाली कांग्रेसले आर्थिक सहयोग संकलन थालेको छ ।

    कांग्रेसले पार्टी मातहतका विभिन्न ६ वटा कार्यसमिति, महाधिवेशन प्रतिनिधि, क्रियाशील सदस्य र जनप्रतिनिधिहरूबाट आर्थिक सहयोग संकलन थालेको हो ।

    संकटको क्षणमा प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, महानगर/उपमहानगर/नगरपालिका, गाउँपालिका र नगर तथा गाउँ वडा कार्यसमितिहरू तथा महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्य र पार्टीका क्रियाशील सदस्यहरू तथा पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूबाट उदारतापूर्वक आर्थिक सहयोग, आत्मिय सहभागिता र सशक्त समर्थनको अपेक्षा गरिएको पत्रमा उल्लेख छ ।

    कांग्रेसले प्राप्त हुने सहयोग रकमको पारदर्शी तरिकाले अभिलेख राखिने र पूर्ण विवरण पार्टीको केन्द्रीय कार्यालयमार्फत् सार्वजनिक गरिने पनि जनाएको छ ।

    परिपत्रमा आर्थिक सहयोग संकलनका लागि प्रदेश र जिल्लामा प्रदेश र जिल्लामा पाँच सदस्यीय छुट्टाछुट्टै समिति बनाउन पनि निर्देशन दिइएको छ ।

    परिपत्रअनुसार समितिहरूमा प्रदेश कार्यसमिति र जिल्ला कार्यसमिति सभापतिहरू संयोजक र कोषाध्यक्ष सदस्य रहने गरी अन्य तीन जना सदस्य मनोनित गर्न सकिने छ ।

    परिपत्रमा हरेक तहका कार्यसमिति, महाधिवेशन प्रतिनिधि, क्रियाशील सदस्य र पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूका लागि छुट्टाछुट्टै रकम तोकिएको छ ।

    कांग्रेसले भवन पुनर्निर्माणका लागि प्रदेश कार्यसमितिबाट पाँच लाख, जिल्ला कार्यसमिति (एक निर्वाचन क्षेत्र भएका जिल्लाहरू) बाट ३० हजार र दुईभन्दा माथि चार निर्वाचन क्षेत्रसम्म भएका जिल्लाहरूबाट ५० हजार रूपैयाँ आर्थिक सहयोग मागेको छ ।

    चारभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरूलाई ७५ हजार रुपैयाँ तोकिएको छ । यसैगरी प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई ३० हजार, प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई २० हजार र महानगरपालिका कार्यसमितिलाई २० हजार रूपैयाँ पार्टीमा बुझाउन भनिएको छ ।

    परिपत्रमा उपमहानगरपालिका कार्यसमितिलाई १५ हजार, नगरपालिका कार्यसमितिलाई १० हजार, गाउँपालिका कार्यसमितिलाई पाँच हजार र वडा कार्यसमितिलाई दुई हजार रुपैयाँ तोकिएको छ ।

    कांग्रेसले महाधिवेशन प्रतिनिधिबाट तीन हजार, प्रदेश अधिवेशन प्रतिनिधिबाट एक हजार, क्रियाशील सदस्यहरूबाट भवन निर्माणका लागि (एक पटकका लागि) १५० रूपैयाँ लिन मातहतलाई निर्देशन दिएको छ ।

    कांग्रेसले स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू (वडा अध्यक्ष, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, महानगर/उपमहानगर/नगरपालिकाका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख) बाट एक महिनाको पारिश्रमिक लिएर केन्द्रीय कार्यालयमा बुझाउन भनिएको छ ।

    कांग्रेस केन्द्रीय कार्यालय मातहतका कार्यसमितिहरू र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई गरिएको छुट्टाछुट्टै परिपत्रमा केन्द्रीय कार्यालयको नाममा रहेको बैंकको खाता नम्बर र क्युआर कोडसमेत उपलब्ध गराइएको छ ।

    २३–२४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालय तोडफोड र आगजनीबाट खण्डहर बनेको छ । आन्दोलनका क्रममा कांग्रेसका विभिन्न ४८ जिल्लामा रहेका पार्टी कार्यालयहरूमा पनि तोडफोड र आगजनी भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ