पोखरा। मणिपाल शिक्षण अस्पतालका नर्सहरूले सुरु गरेको उचित पारिश्रमिकको आन्दोलन कास्कीका अन्य अस्पतालमा पनि फैलिएको छ। नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जिएमसी) का नर्सहरू पनि सोमबार साँझदेखि आन्दोलनमा होमिएका छन्।
मणिपालमा पाँच दिनअघि सुरु भएको आन्दोलनले गति लिँदै जिएमसीमा पनि उस्तै माग उठेका छन्। पारिश्रमिक वृद्धि र सरकारी निर्णय कार्यान्वयनको माग गर्दै नर्सहरूले अस्पताल प्रशासनसँग पटक–पटक अनुरोध गरे पनि ठोस जवाफ नपाएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
कालोपट्टी र प्लेकार्डसहित विरोध
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सहरूले सोमबार कालोपट्टी बाँधेर ऐक्यबद्धता जनाए। जिएमसीका नर्सहरूले साँझ एक घण्टा अस्पतालको प्रयोगशालाअघि प्लेकार्डसहित प्रदर्शन गर्दै ‘श्रम शोषण बन्द गर’, ‘हामी मेसिन होइनौं’, ‘नो नर्स, नो हेल्थकेयर’, ‘नेपाल सरकार न्याय दे’ जस्ता नारा लगाएका थिए।
मंगलबार पनि आन्दोलन निरन्तर रहने नर्सहरूले जनाएका छन्। उनीहरूको आन्दोलनले पोखराको स्वास्थ्य सेवा आंशिक रूपमा प्रभावित बनेको छ। मणिपालमा ६ सयभन्दा बढी र जिएमसीमा साढे ३ सय नर्स कार्यरत छन्।
सरकारी निर्णय कार्यान्वयन माग
स्वास्थ्य संस्थामा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीको पारिश्रमिक र सेवा–सुविधा सरकारी दरभन्दा नघट्ने गरी मंसिर २७ गते २०८१ मा सरकारको निर्णय भएको थियो। नर्सहरूले सो निर्णय तत्काल लागू गर्नुपर्ने माग गरेका छन्।
आन्दोलनरत नर्सहरूलाई विभिन्न संघ–संस्था र अगुवा नर्सहरूले पनि समर्थन जनाएका छन्। उनीहरूका अनुसार सरकारले तत्काल वार्ता गरेर व्यवहारिक समाधान नगरे आन्दोलन अझ सशक्त बनाइनेछ।
प्रतिक्रिया