• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    कभर स्टोरी समाचार

    रोशीले बगायो साढे चार किलोमिटर बीपी राजमार्ग

    738
    SHARES



    काठमाडौं । बीपी राजमार्गको चौकीडाँडा–नेपालथोक खण्डमा रहेको करिब साढे चार किलोमिटर डाइभर्सन सडक रोशी खोलाको बाढीले बगाएको छ।

    गत वर्ष असोजमा आएको बाढीले राजमार्गका धेरै भाग बगाएपछि अस्थायी डाइभर्सनमार्फत् सवारीसाधन सञ्चालन हुँदै आएको थियो। तर, अहिलेको अविरल वर्षासँगै त्यही डाइभर्सन पनि बाढीले बगाएको डिभिजन सडक कार्यालय भक्तपुरकी सूचना अधिकारी बिन्दु अधिकारीले जानकारी दिइन्।

    उनका अनुसार, काभ्रेस्थित चौकीडाँडादेखि बर्खेखोलासम्मका १६ स्थानमा डाइभर्सन सडक बगाएको छ। ती सबै स्थान मिलाउँदा करिब साढे तीन किलोमिटर सडक पूर्ण रूपमा कटान भएको बताइन्छ।

    यस्तै, बर्खे खोलादेखि नेपालथोकसम्म पर्ने सिन्धुली जिल्लाको भागमा पनि तीन स्थानमा डाइभर्सन बगेको डिभिजन सडक कार्यालय खाल्टेका सूचना अधिकारी सुदर्शन उप्रेतीले बताए। ‘बगेका ठाउँमा पुगेर प्रत्यक्ष अवलोकन गर्ने अवस्था छैन,’ उनले भने, ‘तर गत वर्षको बाढीपछि बनाइएका अधिकांश डाइभर्सनहरू कटान भएको देखिन्छ।’

    अहिले पनि रोशी खोलामा पानीको सतह उच्च भएकाले पुनर्निर्माणको काम सुरु गर्न नसकिएको अधिकारीले बताइन्। ‘७२ घण्टाभित्र सडक पुनः सुचारु गर्ने योजना बनाएका छौं, तर बाढी घटेपछि मात्रै काम सुरु गर्न सकिन्छ,’ उनले भनिन्।

    डिभिजन कार्यालयका अनुसार, बीपी राजमार्ग पुनर्निर्माणका लागि दुई खण्डमा ठेक्का दिइएको छ। त्यसका ठेकेदार कम्पनी र सरकारी उपकरण दुवै प्रयोग गरेर यथासक्य चाँडो राजमार्ग खुलाउने तयारी गरिएको छ। गत वर्ष बाढीले राजमार्ग बगाएपछि सरकारले आफ्नै यन्त्र–उपकरण र स्रोत प्रयोग गरी डाइभर्सन निर्माण गरेको थियो।

    ‘ठेक्का लगाएर नभई कार्यालय आफैंले डाइभर्सन निर्माण गरेको हो,’ अधिकारीले भनिन्। यसबीच, बीपी राजमार्गको पुनर्निर्माण कार्य चार खण्डमा विभाजन गरिएको छ। भकुण्डेबेँसी–चारसयबेँसी खण्डको ठेक्का लामा–नवकान्तिपुर जेभीले लिएको छ। चारसयबेँसी–डालाबेँसी खण्डको जिम्मा खानी–कमलजित–एवान निर्माण सेवाले लिएको छ।

    बर्खेखोला–नेपालथोक खण्ड पुनर्निर्माण खरीढुंगा–घिसिङ–क्षितिज जेभीले गर्ने ठेक्का पाएको छ। बाँकी एक खण्ड जापान सरकारको सहयोगमा पुनर्निर्माण गरिने तयारीमा छ। तर, ठेक्का लागेका अधिकांश खण्डमा पनि पुनर्निर्माणको ठोस काम अझै सुरु हुन सकेको छैन।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ