काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण लामो दुरीका गाडीहरूलाई काठमाडौँबाट बाहिरिन आज बिहानसम्म पनि अनुमति दिइएको छैन। उपत्यकाभित्रको अवस्था सामान्य देखिए पनि बाहिरी जिल्लातर्फ जाने प्रमुख राजमार्गहरू अवरुद्ध रहँदा गाडी सञ्चालनमा रोक कायम राखिएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार, उपत्यकाका सबै नाकाबाट लामो दुरीका सवारी साधनलाई बाहिर जान रोकिएको छ। उनले भने, “काठमाडौँबाट अत्यावश्यक सवारीबाहेक कुनै पनि लामो दुरीका गाडीलाई आज बिहानसम्म बाहिर जान दिइएको छैन। उपत्यका भित्रिने गाडीहरू पनि अहिले रोकिएका छन्।”
यातायात व्यवसायीहरूलाई तत्कालका लागि नयाँ टिकट बुकिङ नगर्न निर्देशन दिइएको छ। यसैबीच, पहिले नै टिकट काटेका यात्रुहरूलाई रकम फिर्ता गराइएको प्रवक्ता सुवेदीले जानकारी दिए। उनका अनुसार, “जसले बस टिकट काटेका थिए, ती सबैको पैसा सम्बन्धित काउन्टरहरूबाट फिर्ता गरिएको छ। सडक यातायात पूर्ण रूपमा सहज भएपछि मात्र नयाँ टिकट बिक्री सुरु गर्न भनिएको छ।”
यातायात व्यवस्था विभाग र गृह मन्त्रालयले जारी गरेको निर्णयअनुसार, वर्षा र पहिरोका कारण असोज १८, १९ र २० गतेसम्म काठमाडौँ उपत्यका आउजाउ गर्ने सवारी साधनमा अस्थायी रोक लगाइएको हो। हाल सम्बन्धित निकायले राजमार्गहरू खुलाउने काम जारी राखेका छन्। मौसम सुधारसँगै अवस्था सामान्य हुनासाथ लामो दुरीका गाडी सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ।
प्रतिक्रिया