• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

समाचार

प्रतिनिधिसभा विघटन असंवैधानिक : नेपाल बार एशोसिएशन

1.6K
SHARES



काठमाडौँ । नेपाल बार एशोसिएशनले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै त्यसको कडा भर्त्सना गरेको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरी नयाँ सरकार गठन गर्ने प्रक्रिया अघि बढाएपछि बारले यसलाई संवैधानिक सर्वोच्चताको प्रत्यक्ष उल्लङ्घन भनेको हो।

बारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रतिनिधिसभा विघटन गरी नयाँ सरकार बनाउने राष्ट्रपतिको निर्णय स्वेच्छावादी र असंवैधानिक मात्र नभई कानूनको शासन, संवैधानिक सर्वोच्चता एवं संविधानवादको पनि प्रत्यक्ष विपरीत छ। यस कदमको कडा भर्त्सना गर्दछौं।”

संविधानलाई राष्ट्रिय सहमतिबाट बनेको ऐतिहासिक कागजात भन्दै बारले यसलाई कमजोर पार्ने कुनै पनि कदम स्वीकार्य नहुने चेतावनी दिएको छ। विज्ञप्तिमा भनिएको छ, “लोकतन्त्र, विधिको शासन, न्यायपालिकाको स्वतन्त्रता र मानव अधिकारको सचेत पहरेदारको रूपमा नेपाल बार एशोसिएशन यस कार्यको घोर भर्त्सना गर्दछ। यस्ता कार्यहरूले लोकतान्त्रिक संस्थामाथि जनविश्वास घटाउँछन् र हाम्रो संवैधानिक व्यवस्थाको जग नै खतरामा पार्छन्।”

बारले प्रतिनिधिसभा विघटनलाई लोकतन्त्र, गणतन्त्र र समावेशितासहितको संघीयता खोस्ने प्रयासको रूपमा व्याख्या गर्दै यसले नेपाली जनताले दशकौँ लामो संघर्षमार्फत हासिल गरेका उपलब्धिलाई कमजोर बनाउने दाबी गरेको छ।

संविधानको अक्षरशः पालना र जनचाहनाको सम्मान गर्न आग्रह गर्दै बारले सबै सरोकारवालालाई सचेत रहन आह्वान गरेको छ। विज्ञप्तिमा भनिएको छ, “नेपाल बार एशोसिएशन कुनै पनि बहानामा यस्तो पश्चगामी कदमलाई अस्वीकार गर्दछ। संविधानको रक्षा, जनताको बलिदानीपूर्ण इतिहासको कदर र संवैधानिक सर्वोच्चता कायम राख्न हामी आवश्यक सबै कदम चाल्न तयार छौं।”

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ