काठमाडौं । जेनजीको प्रदर्शनस्थलमा काठमाडौं महानगरपालिकाले घुम्ती शौचालय राखिदिएको छ ।
सामाजिक सञ्जाल बन्द गराउने सरकारको निर्णय र भ्रष्टाचारविरुद्ध माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरिरहेकाहरुको सुविधाका लागि महानगरपालिकाले निःशुल्क प्रयोग गर्न मिल्ने घुम्ती शौचालय राखिदिएको हो ।
अहिले युवाहरु भ्रष्टाचार, बेथिति र सामाजिक सन्जाल बन्द विरुद्ध नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् । उनीहरुको प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समेत समर्थन गरेका छन् ।
राष्ट्रिय झण्डा बोकेर सडकमा ओर्लिएका उनीहरूले राष्ट्रभक्ति गीत गाएका छन् । उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसमेत बोकेका छन् । कतिपय स्कुल–कलेजको ड्रेसमा देखिएका छन् ।
‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड उनीहरूले बोकेका छन् ।
सामाजिक सञ्जालमार्फत् गरेको आह्वान अनुसार प्रदर्शनमा उत्रिएका जेनजीले राजनीतिक दलका नेता–कार्यकर्तालाई प्रदर्शनमा सहभागी नगराउने बताएका छन् ।
प्रदर्शनको क्रममा रुख बिरुवा नभाँच्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, आगजनी, तोडफोड नगर्ने, धाकधम्की नदिने, सभ्य र जिम्मेवार भएर प्रस्तुत हुने, नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिने प्रतिबद्धता समेत जनाएका छन् ।
उनीहरूले प्रदर्शन शान्तिपूर्ण हुने बताएका छन् । यद्यपि घुसपैठ हुन सक्ने भन्दै सुरक्षाकमीको तैनाथी बढाइएको छ । जेनजीले काठमाडौं उपत्यका बाहिरका रुपन्देही, दाङ, पोखरा लगायतका जिल्लाहरू पनि प्रदर्शन गरेका छन् ।
प्रतिक्रिया