काठमाडौँ । जेनजी पुस्ताले सोमबार सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गर्दैछन् । बिहान ११ बजेदेखि माइतीघर मण्डलामा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले पनि अनुमति दिएको छ ।
युवाहरू बिहान ९ बजेदेखि नै माइतीघरमा भेला हुन थालेका छन् । कलेज ड्रेस लगाएर उनीहरू प्लेकार्डसहित आइपुगेका छन् । प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ।
प्रदर्शन स्थलमा एसपी र आधा दर्जन डीएसपीहरूले सुरक्षा कमाण्ड गर्ने भएका छन् । माइतीघर र बानेश्वर क्षेत्रको कमाण्ड जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले गर्ने भएका हुन् ।
सो क्षेत्रमा प्रहरीका ६ जना डीएसपीहरू पनि खटिनेएका छन् । प्रदर्शन स्थलमा सशस्त्र प्रहरीको तर्फबाट एसपी जीवन केसीले सुरक्षा फौजको नेतृत्वमा गर्नेछन् ।
काठमाडौँका अपरेशन कमाण्डर सुन्दर तिवारी, प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी हरि खतिवडा, नगर प्रहरीका डीएसपी मञ्जिल मुकारुङ र सिंहदरबार वृत्तका डीएसपी जनार्दन घिमिरे सहित ६ जना परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको छ ।
भ्रष्टाचारको विरुद्धमा आज माइतीघरमा हुने प्रदर्शनबारे आइतबार जिल्ला सुरक्षा समितिमा छलफल भएको थियो । प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा बसेको बैठकले सुरक्षा चुनौतीको विश्लेषण गरेको थियो ।
प्रतिक्रिया