काठमाडौँ । जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका) ले सोमबार काठमाडौंमा प्रदर्शन गर्ने भएका छन्।
भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द विरोधमा उनीहरूले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गर्न लागेका हुन्। माइतीघर मण्डलमा भदौ २३ गते बिहान ११ बजे प्रदर्शन हुनेछ।
विद्यार्थीहरूको पोशाक लगाएर, परिचय पत्रसहित, कम्तीमा एउटा किताब र एफोर साइजको खाली कागजसहित माइतीघर मण्डलमा उपस्थित हुन भनिएको छ।
यसबारे सामाजिक सञ्जाल टिकटकमा ट्रेण्ड नै चलिरहेको छ। प्रधानमन्त्री भइसकेका मानिसहरू भ्रष्टाचारमा संलग्नको आरोप लागे पनि कानुनी कारबाही नभएकोलगायत विषयमा उनीहरूले प्रदर्शन गर्न लागेका हुन्।
ठूला भ्रष्टाचार, वंशवाद, असमान सम्झौता, नागरिक अधिकार हनन्, बेरोजगारीलगायत मुद्दा उठान गर्दै जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन्। उनीहरूले देशमा सुशासन र रोजगारी सिर्जनाको वातावरण हुनुपर्ने बताएका छन्।
साथै सामाजिक सञ्जाल टिकटकमा नेताहरू र उनीहरूका छोराछोरीको जीवनशैलीलाई लिएर पनि आचोचना भइरहेको छ। नेपालमा अरू सामाजिक सञ्जाल बन्द रहे पनि टिकटक र भाइबर भने सञ्चालनमा छ।
दुर्गा प्रसाईंलाई भने- ‘तपाईं नआइदिए हुन्थ्यो’
जेनजी पुस्ताले गर्न लागेको आन्दोलनमा दुर्गा प्रसाईंले सहभागी हुने भन्दै स्टाटस लेखेपछि केही युवाले उनीसँग सम्पर्क गरेका छन् । आइतबार अपराह्न फोन गरेर उनीहरुले प्रदर्शनमा सहभागी नभइदिन आग्रह गरेका हुन् ।
स्रोतका अनुसार, आइतबार अपराह्न ५ बजे माइतीघर मण्डलामा केही जेनजी युवा स्वत:स्फूर्त भेला भएर प्रदर्शनबारे छलफल गरेका थिए । त्यसक्रममा प्रसाईंको विषय समेत उठेको थियो । त्यसपछि बैठकमा सहभागी एक युवाले प्रसाईंलाई फोन गरेर नआउन आग्रह गरेकी थिइन् ।
‘त्यसपछि उहाँले आफू नआउने प्रतिबद्धता जनाउनुभयो, खासमा हामीले प्रदर्शनमा आउने युवाको सुरक्षाका लागि पनि उहाँलाई नआउन भनेका हौं,’ उनले भनिन्, ‘पहिले उहाँ भएको आन्दोलन हिंसात्मक बनेको थियो, यसपालि अन्डरएजका विद्यार्थीहरू पनि सडकमा आउने भएकाले उहाँलाई नआइदिन आग्रह गरेका छौं ।’ जवाफमा प्रसाईंले आफू नआउने बताएको उनले जानकारी दिइन् ।
प्रतिक्रिया