• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

समाचार

गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीबीच मालढुंगामा बैठक, भए यस्ता सहमति

333
SHARES



पोखरा। गण्डकी र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीबीच स्याङ्जाको गल्याङ नगरपालिका–१ मालढुंगामा दोस्रो संयुक्त बैठक सम्पन्न भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यबीच भएको उक्त छलफल प्रदेश विकासका साझा प्रयासलाई प्रभावकारी बनाउने उद्देश्यका साथ आयोजना गरिएको हो।

यसअघि २०८१ माघ ३० गते पाल्पाको रानीमहलमा पहिलो संयुक्त बैठक बसेर २१ बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको थियो। मालढुंगामा भएको यसपटकको बैठकमा ती प्रतिबद्धता कार्यान्वयनको अवस्था समीक्षा गरिएको मुख्यमन्त्री पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए।

उनका अनुसार अब तीन महिनाभित्र दुवै प्रदेशका योजना आयोगले सरोकारवाला निकायको सहभागितामा संयुक्त कार्ययोजना तयार पार्ने र प्रस्तुत गर्ने निर्णय भएको छ। सरकारको नीति–कार्यक्रम र बजेटमा समेटिएका साझा निर्णयको विवरण संकलन गर्ने र बाँकी विषयलाई प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने व्यवस्था मिलाउने सहमति भएको छ।

नेपाल सरकारसँग नियमित समन्वय गर्ने जिम्मेवारी दुवै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लिनेछ। त्यस्तै, दामोदरकुण्ड–कृष्णागण्डकी “उत्तरवाहिनी–लुम्बिनी मुक्तिमार्ग” अवधारणा पत्र तयार पार्न दुवै प्रदेशको पर्यटन मन्त्रालयले संयुक्त रूपमा काम गर्ने सहमति भएको छ।

प्रदेशका आवधिक योजनामा प्रस्तावित रुपान्तरणकारी कार्यक्रमलाई संयुक्त रूपमा कार्यान्वयन गर्न कार्यान्वयन खाका तयार गर्ने, कालीगण्डकी तटीय क्षेत्रमा सञ्चालन गर्न सकिने कार्यक्रम पहिचान गरी पुस मसान्तभित्र सरकारमा पेस गर्ने निर्णय पनि भएको छ।

असोज २१ देखि कात्तिक १९ सम्म उत्तरवाहिनी क्षेत्रमा हुने कात्तिक महास्नान तथा दामोदर धर्मोत्सवलाई भव्य बनाउन दुवै प्रदेशले सहजीकरण गर्ने र स्थानीय तहलाई समेत समन्वयका लागि अनुरोध गर्ने निर्णय गरिएको छ।

त्यसैगरी, विकास र सेवा प्रवाहमा सिकाइ र अनुभव आदान–प्रदान गर्न प्रमुख सचिवस्तरीय संयन्त्र गठन गर्ने, कानूनी तथा नीतिगत एकरूपता कायम गर्ने, साथै प्रमुख तीर्थ तथा पर्यटकीय स्थल जोड्ने पदमार्ग पहिचान गरी विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने कार्य सुरु गर्ने निर्णयसमेत बैठकले गरेको छ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ