काठमाडौं। भाद्र शुक्ल तृतीयाका दिन पर्ने हरितालिका (तीज) पर्व आज महादेवको पूजाआराधना गरी मनाइँदैछ। यस दिन व्रत बसेर शिव–पार्वतीको पूजा गर्दा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने विश्वास छ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ। त्यसै दिनदेखि हरितालिका व्रतको परम्परा सुरु भएको मानिन्छ।
पिता हिमालयले विष्णुसँग पार्वतीको विवाह गराउन खोजेपछि साथीहरूले पार्वतीलाई लुकाएर सुरक्षित स्थानमा राखे। त्यही स्थानमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन्। यस दिन पार्वतीलाई साथीहरूले हरण गरेको कारण संस्कृतका ‘हरित’ (हरण) र ‘आलिका’ (साथी) शब्दबाट ‘हरितालिका’ शब्द बनेको मानिन्छ।
धर्मशास्त्रविद्हरूका अनुसार व्रत निराहार, जलाहार वा फलाहार गरी आफ्नो क्षमता अनुसार गर्न सकिन्छ। तीज केवल श्रीमान्को दीर्घायुका लागि मात्र नभई सौभाग्य, सन्तान, र अविवाहितलाई योग्य जीवनसाथी प्राप्तिको कामनामा पनि बसिने व्रत हो। महिलाले नसके पुरुषले पनि व्रत बस्न सक्ने उल्लेख छ।
तीज व्रत नित्य र काम्य दुवै प्रकारको मानिन्छ र हिन्दु मात्र नभई सबै मानवका लागि उपयुक्त रहेको धर्मशास्त्रीय मान्यता छ। व्रतालुले अघिल्लो दिन राति मीठा परिकार (दर) खाई व्रत बस्ने चलन छ।
तीज महिलाले दुःख–पीर पोख्ने पर्वका रूपमा पनि प्रयोग गर्दै आएका छन्। तर पछिल्ला वर्षहरूमा दर खाने नाममा देखिएको तडकभडक र भड्किलो खर्च संस्कृतिलाई विकृति बनाइरहेको भन्दै संस्कृतिविद्हरूले सचेत रहन आग्रह गरेका छन्।
तीज पर्व दर खाएर सुरु भई हरितालिका व्रत, गणेश पूजापछि ऋषि पञ्चमीका दिन सप्तऋषि पूजा गरी समापन हुन्छ। तीजको अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिर सहित देशैभरिका शिवालयहरुमा पूजाआजा गर्न श्रद्धालु महिलाहरूको भीड लागेको छ ।
दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चारवटै ढोका बिहान ३ बजेदेखि खुला गरिएको छ ।
प्रतिक्रिया