काठमाडौँ । सत्ताको नेतृत्वकर्ता दल नेकपा एमाले र सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा दुई तिहाइ पुर्याएपछि मात्रै उपसभामुख इन्दिरा रानामगरलाई हटाउने प्रस्ताव दर्ता गर्ने भएका छन् ।
मंगलबार बिहानैबाट आफ्ना पार्टीका सांसदहरूलाई खाली पानामा हस्ताक्षर सङ्कलन गराइरहेका एमाले र कांग्रेसले दुई तिहाइ पुर्याउनका लागि अहिले सत्तारुढ दलहरूको बैठक बसिरहेको छ ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसिरहेको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीकी सचिव अनिता देवी लगायत छन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइका लागि १८४ सांसद आवश्यक पर्छ । अहिले कांग्रेससँग ८७, एमालेसँग सभामुख बाहेक ७७ सांसद छन् । दुई पार्टीको सङ्ख्या जोड्दा १६७ मत पुग्छ । बाँकी १७ मत पुर्याउनका लागि अहिले अन्य सत्तारुढ दलसँग छलफल गरिरहेका हुन् ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी सरकारमा छ । उसका ७ सांसद छन् । त्यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकारमा छ । लाेसपासँग ४ सांसद छन् । सरकारमै रहेका दलहरूका सांसद जोड्दा १७८ सांसद छन् ।
अहिलेको बैठकमा जनमत र नागरिक उन्मुक्ति पनि सहभागी भएकाले उनीहरूले मत दिने निश्चित भएपछि हटाउने प्रस्ताव दर्ता गर्ने तयारी छ । जनमतसँग ६ र नागरिक उन्मुक्ति पार्टीसँग ४ सांसद छन् । जनमत मात्रैले मत दिए पनि उपसभामुख रानालाई हटाउन दुई तिहाइ पुग्छ ।
प्रतिक्रिया