काठमाडौँ । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट हड्डी चोरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शव जलाउने जिम्मा लिएका काभ्रे घर भएका गणेश ढकाल र उनलाई सहयोग गर्दै आएका उदयपुरका विनायक मैनालीले शुक्रवार साँझ शवको हड्डी निकालेर बेचेको आरोप छ ।
काभ्रेको बनेपा नगरपालिका–९ का राम शाहीको शव जलाउने क्रममा उनीहरूले हड्डी निकालेका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले ५ सयमा अर्का एक जनालाई सो हड्डी बेचेको थाहा भएको छ ।
ढकाल २५ वर्ष देखी पशुपतिमा शव जलाउने काम गर्दै आएका थिए । एउटा शव जलाएबापत उनले पशुपति विकाश कोषसँग १५ सय रुपैयाँ लिन्छन् । शुक्रवार दिउँसो एक जना अपरिचित आएर आफूलाई ‘भगवानलाई चढाउन हड्डी चाहियो’ भनेर आग्रह गरेको ढकालले प्रहरीसँग बताएका छन् ।
कोट पाइन्ट लगाएका ती अपरिचित घण्टौँ कुरेर बसेपछि आफूले हड्डी निकालेर आफ्नो सहयोगी विनायक मैनालीलाई बट्टामा राखेर दिएको उनले बताएका छन् । अनुसन्धान अधिकृतहरूसँग ढकालले भनेका छन्, ‘पहिलो पटक हड्डी निकालेको हुँ, यसअघि यस्तो काम मैले गरेको छैन ।’
उनले दिएको बट्टा मैनालीले ती अपरिचितलाई दिए । हड्डीको बट्टा दिएपछि अपरिचितले मैनालीलाई थप १ सय रुपैयाँ दिएको उनीहरूले प्रहरीलाई बताएका छन् । बट्टामा हड्डी हालेर लगेको देखेपछि मृतकका आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
प्रतिक्रिया