काठमाडौं । गत महिना भएको इजरायली आक्रमणमा परेर इरानका राष्ट्रपति मसाउद पेजेस्कियन हल्का घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ।
इरानको रेभुलेसनरी गार्डसँग निकट फार्स न्युज एजेन्सीका अनुसार १६ जुनका दिन तेहरानको अन्डरग्राउन्डमा लक्षित गर्दै बम प्रहार हुँदा उनी घाइते भएका थिए। राष्ट्रपति राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सहभागी भएकै समयमा आक्रमण भएको थियो।
फार्स समाचार एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले लेखे अनुसार जुन १६ मा इजरायले इरानको राजधानी तेहरानस्थित एउटा गोप्य भूमिगत केन्द्रमा ६ वटा बम आक्रमण भएका थिए ।
त्यस समय राष्ट्रपति पेजेश्कियान त्यहाँ सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को आपत्कालीन बैठकमा सहभागी थिए । सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीपछिको सबैभन्दा ठूलो निर्णय गर्ने निकाय हो ।
केन्द्रमा आक्रमणपछि राष्ट्रपति पेजेश्कियान र अन्य सदस्यहरू आपत्कालीन सुरुङबाट बाहिर निस्कने क्रममा खुट्टामा चोट लागेको थियो ।
इजरायलको आक्रमणबाट इरानी राष्ट्रपति सामान्य घाइते भएको भन्ने फार्स एजेन्सीको यो रिपोर्ट स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको बीबीसीले जनाएको छ । इजरायलले पनि यस विषयमा सार्वजनिक रूपमा कुनै टिप्पणी गरेको छैन । यद्यपि इरानले घुसपैठ भएको हुनसक्ने आशंकामा आन्तरिक अनुसन्धान गरिरहेको छ ।
इजरायलले हत्या प्रयास गरेको इरानी राष्ट्रपतिको भनाइ
सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियोहरूमा उत्तर–पश्चिमी तेहरानको पहाडी क्षेत्रमा बारम्बार आक्रमण भएको देखाइएको थियो । पछि मात्र यी आक्रमणहरू इरानका शीर्ष नेताहरू बैठकमा रहेको गोप्य भूमिगत केन्द्रलाई लक्षित गरिएको खुलासा भएको थियो ।
फार्स एजेन्सीको रिपोर्टअनुसार, इजरायली आक्रमणको क्रममा उक्त केन्द्र भित्र प्रवेश गर्ने र बाहिरिने दुवै बाटालाई निशाना बनाइएको थियो । आक्रमणले उक्त केन्द्रका सबै ६ वटा प्रवेश र निकास बिन्दुहरूका साथै भेन्टिलेसन प्रणाली पनि ध्वस्त भएको छ । केन्द्रको बिजुली पनि काटिएको थियो । तर राष्ट्रपति पेजेश्कियान सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए ।
गत हप्ता, पेजेश्कियानले इजरायलले आफ्नो हत्या प्रयास गरेको आरोप लगाएका थिए । इजरायलले कसरी इरानका शीर्ष अधिकारीहरूको अवस्थिति र संवेदनशील गोप्य सुविधाहरूको बारेमा यति महत्वपूर्ण गुप्तचर जानकारीहरू जम्मा गर्यो भन्नेमा अझै धेरै प्रश्नहरू बाँकी रहेको बीबीसीले जनाएको छ ।
जुन १३ मा, इजरायलले इरानको आणविक र सैन्य स्थलहरूमा अचानक आक्रमण गरेको थियो । जुन २२ मा अमेरिकाको वायुसेना र नौसेनाले तीनवटा इरानी आणविक केन्द्रहरूमा हवाई र मिसाइल आक्रमण गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछि उक्त आक्रमणले ती सुविधाहरूलाई ‘पूर्ण रूपमा ध्वस्त’ पारेको बताए पनि स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन ।
इजरायल र अमेरिकाले गरेका आक्रमण इरानलाई आणविक हतियार बनाउनबाट रोक्न चालिएको कदम भनिएको छ । इरानले भने आफूले आणविक हतियार नबनाएको र आफ्नो युरेनियम संवर्धन शान्तिपूर्ण उद्देश्यका लागि भएको बताउँदै आएको छ ।
प्रतिक्रिया