काठमाडौं । चिनियाँ अधिकारीहरूले नेपालसँग जोडिएको सीमा क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको सूचना दिएपछि सिन्धुपाल्चोक र काभ्रे जिल्लाका प्रशासनिक निकायहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्।
चीनको तातोपानी सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीमार्फत प्राप्त जानकारीका आधारमा सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले असार ७ गतेसम्म सतर्कता अपनाउन जिल्लावासीहरूलाई अनुरोध गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीद्वारा जारी सूचनामा भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन भनिएको छ।
“भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका आसपास बाढीको जोखिम देखिएकाले नदी किनारमा बसोबास गरिरहेका नागरिकहरू सावधानी अपनाउन आग्रह गरिएको हो,” सूचनामा उल्लेख छ।
यस्तै, काभ्रे जिल्लामा पनि भुम्लु, तेमाल र रोशी गाउँपालिकाका तटीय क्षेत्रहरू जोखिममा पर्न सक्ने भन्दै प्रशासनले सतर्कता जारी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार पालिकाहरूलाई जानकारी गराईसकिएको र प्रहरीलाई पनि तयारी अवस्थामा राखिएको छ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले भने, “सीमामा खटिएका चिनियाँ सुरक्षाकर्मीले सशस्त्र प्रहरीमार्फत वर्षा र बाढीको सूचना पठाएपछि हामीले विज्ञप्ति जारी गरेका हौं। यस्तो आपसी सूचना आदान–प्रदान दुवै देशबीच नियमित रूपमा हुन्छ।”
चिनियाँ मौसम केन्द्रको पूर्वानुमान
बेइजिङस्थित विश्व मौसम विज्ञान केन्द्रले मंगलबार जारी गरेको सूचनामा दक्षिण पश्चिम मनसुन सक्रिय हुने जनाइएको छ। यद्यपि नेपालको नाम स्पष्ट रूपमा उल्लेख गरिएको छैन, नेपालसहितका क्षेत्रहरूमा भारी वर्षाको सम्भावना नक्सामार्फत देखाइएको छ।
सूचनामा भारतका गोवा, केरला, आसाम, श्रीलंकाको दक्षिणपश्चिम भाग, बंगलादेशको उत्तर, म्यानमार र थाइल्याण्डका केही भागहरूमा भारीदेखि अति भारी वर्षा हुने जनाइएको छ। गोवासहित केही क्षेत्रमा ३०० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ।
नेपालका मौसमविद् के भन्छन् ?
वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार, चीनमा अत्यधिक वर्षा भएमा त्यसको प्रभाव नेपालका नदीहरूमा पानीको बहाव बढ्ने रूपमा देखिन सक्छ। तर नेपालमै परेको वर्षाले छोटो समयमा ठूलो असर नपार्न सक्ने उनले बताइन्। “सावधानी अपनाउनु भनेको सधैं राम्रो कुरा हो, किनभने बाढी र पहिरो जस्ता घटनाले जनधनको क्षति पुर्याउने सम्भावना हुन्छ,” उनले भनिन्।
मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको बुलेटिनमा बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ।
महाशाखाले अत्यधिक वर्षाका कारण जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी गर्न सबैलाई अनुरोध गरेको छ।
प्रतिक्रिया