काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।
जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै राति नै पोखरा लगिएको थियो ।
हिजो सार्वजनिक बिदा परेका कारण आज मात्रै जिल्ला अदालत कास्कीमा उपस्थित गराइने प्रहरीले जनाएको छ । लामिछाने पक्राउ परेसँगै रास्वपाले सडक प्रदर्शन गरेकोले पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
पोखरामा सहकारी पीडित र रास्वपाका नेता-कार्यकर्ता आमने–सामने हुनसक्ने भएकाले सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । रास्वपाका कार्यकर्ता र सहकारी बचतकर्ता आमने–सामने हुँदा सुरक्षा चुनौति नबढोस् भनेर विशेष ध्यान दिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।
सूर्यदर्शन सहकारीबाट रवि पूर्व प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा ५ करोड रुपैयाँ गएको देखिएको छ । रविले सूर्यदर्शन सहकारीबाट १ करोड रुपैयाँ लिएर गोर्खा मिडियाको नाममा ऋण मिलान गरेको वित्तीय प्रतिवेदनमासमेत उल्लेख छ ।
प्रतिक्रिया