• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    तिहाड जेलमा १५६ दिन बसेर रिहा भए अरविन्द केजरीवाल

    1.1K
    SHARES



    काठमाडौं ।- भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल शुक्रबार रिहा भएका छन् । त्यहाँको सर्वोच्च अदालतबाट जमानत पाएसँगै १५६ दिन तिहाड जेलमा बिताएर केजरीवाल रिहा भएका हुन् ।

    केजरीवाललाई सर्वोच्च अदालतले शुक्रबार जमानत दिएको हो । जमानत मिलेपछि केजरीवालको रिहाइको पत्र तिहाड जेलमा पुर्‍याइएको थियो। उनी समग्रमा करिब ६ महिना लामो जेल जीवन गुजारेर रिहा भएका हुन् । उनी त्यसअघि करिब २० दिन प्रहरीको हिरासतमा बसे ।

    जेलबाहिर आएपछि उनले आम आद्मीका कार्यकर्तालाई सम्बोधन गरे । उनले भने, ‘सबैभन्दा पहिले भगवानप्रति आभारी छ । जसका कारण म जेलबाहिर आउन सकेको छु । जसले मन्दिर, मस्जिद, गुरूद्वारामा प्रार्थना गरे, उनीहरू सबैप्रति आभारी छु । मेरो रगतको एक एक थोपा देशका लागि समर्पित छ।’

    उनले जेलबाट निस्किएलगत्तै भारतीय जनता पार्टीप्रति निशाना साँधे । केजरीवालले भने, ‘उनीहरूको जेलले मेरो हौसला र आत्मविश्वास तोड्न सकेन ।’

    सर्वोच्च अदालतले मदिरा नीतिसँग सम्बन्धित सीबीआईको मुद्दा प्रकरणमा उनलाई जमानत दिएको हो । अदालतले आफ्नो आदेशमा केजरीवालले १० लाख रुपैयाँ धरौटी तिर्नुपर्ने बताएको थियो ।

    न्यायाधीश सूर्यकान्त र उज्ज्वल भुयनको इजलासले उक्त मुद्दाको सुनुवाइ गरेको थियो । सेप्टेम्बर ५ मा फैसला सुरक्षित राखिएको थियो ।

    केजरीवालले सर्वोच्च अदालतमा दुईवटा निवदेन दर्ता गरेका थिए । यसमध्ये एउटा निवेदन जमानत नदिनेविरुद्ध थियो । यस मामिलामा सीबीआईको गिरफ्तारीविरुद्ध दोस्रो निवेदन पनि पुगेको थियो ।

    सीबीआईले केजरीवाललाई इनकम ट्याक्स डिपार्टमेन्टको हिरासतमा रहेका बेला पक्राउ गरेको थियो । केजरीवाललाई ईडी टोलीले मार्च २०२४ मा पक्राउ गरेको थियो । जुलाई १२ मा, केजरीवालले ईडी मुद्दामा सर्वोच्च अदालतबाट जमानत पाएका थिए ।

    तर यो जमानतअघि नै सीबीआईले केजरीवाललाई जुनमा पक्राउ गरेर हिरासतमा लिएको थियो । यहीकारण केजरीवाल जेलबाट बाहिर आउन सकेका थिएनन् ।

    लोकसभा चुनावलाई ध्यानमा राख्दै सर्वोच्च अदालतले मे १० मा अ उनलाई चुनाव प्रचारका लागि २१ दिन अर्थात् जुन २ सम्मको अन्तरिम जमानत दिएको थियो ।

    यसअघि दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसोदियालाई पनि यस मामिलामा जमानत दिइएको थियो । सिसोदिया १७ महिना जेल बसेर रिहा भएका छन् । यसअघि सञ्जय सिंह पनि धरौटीमा छुटेका थिए ।

    आम आद्मी‍ पार्टीले केन्द्र सरकार चलाइरहेको भारतीय जनता पार्टीले केन्द्रीय एजेन्सीहरू प्रयोग गरेर विपक्षी नेताहरूलाई झूटा मुद्दामा फसाएको आरोप लगाउँदै आएको छ ।

    भाजपाले कानुनको नजरमा सबै समान रहेको भन्दै यस्ता आरोपलाई अस्वीकार गर्दै आएको छ । केजरीवालको रिहाइसँगै विपक्षी इन्डिया गठबन्धनमा पनि उत्साह देखिएको छ।

    इन्डिया गठबन्धनका नेताहरू अखिलेश यादवसहितका नेताहरूले केजरीवाललाई खुला संसारमा स्वागत गर्दै सर्वोच्चको निर्णयप्रति सञ्चामाध्यममा खुसी व्यक्त गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ