• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी

    पशुपतिनाथ मन्दिरमा किन बारम्बार हुन्छ भेटी चोरी

    6K
    SHARES



    काठमाडौँ । विश्वभरिका दशौँ लाख धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिने पशुपतिनाथ मन्दिरमा भेटी चोरी भएको घटनामा छानबिन समितिले प्रतिवेदन दिएको एक वर्ष लगत्तै पुन: अर्को चोरीको घटना सार्वजनिक भएको छ।

    भक्तहरूले दान दिएको भेटी चोरीमा संलग्न भएको आशङ्कामा पाँच जनालाई हिरासतमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गौशाला प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक केशवराज थेबेले भेटी गणना गर्ने क्रममा लुकाएर चोरी गरेको आरोपमा उनीहरूविरुद्ध अनुसन्धान भइरहेको बताए।

    बारम्बार हुने गरेको भेटी चोरी नरोकिनुमा यसअघि भएका यस्तै चोरीका घटनामा जिम्मेवार अधिकारीहरूमाथि कारबाही नहुनु प्रमुख कारण रहेको यसअघि गठन भएको छानबिन समितिका संयोजकले बताएका छन्।

    छानबिन समितिको प्रमुख रहेका देवी बरालले प्रतिवेदन कार्यान्वयनमा पशुपति क्षेत्र विकास कोष र तत्कालीन मन्त्रीले समेत तत्परता नदेखाएको आरोप लगाए। “ती सुझावमध्ये कुनै पनि कार्यान्वयन नगरेका कारण घटना दोहोरिएको हो भएको हो भन्ने मलाई लाग्छ,” बराल भन्छन्।

    पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापा भेटी चोरी हुने गरेकोबारे आफूले केही समय अघिबाटै सूचना पाएको र त्यसको निगरानी गरिरहेको दाबी गर्छन्। “केही सूचना आएको थियो। म आफैँले सूक्ष्म अध्ययन गरिरहेको थिएँ। हिजो त्यो हामीले प्रत्यक्ष भेट्टायौँ,” थापाले भने।

    अधिकारीहरूका अनुसार सङ्कलित भेटी रकम गन्न बसेका कोषकै कर्मचारीहरूले निश्चित रकम आफूसँग लुकाउने गरेको सीसीटीभीको दृश्यमा देखिएको थियो। संलग्न भएको आरोप लागेका कर्मचारीहरूबाट सोमवार केही त्यस्तो रकम पनि बरामद भएपछि प्रहरीको जिम्मा लगाइएको कोषका सदस्य सचिव थापाले बताए।

    चोरीमा संलग्न भएको पुष्टि भए ती कर्मचारीहरूमाथि कारबाही हुने उनले बताएका छन्। “हाम्रो कर्मचारी विनियमावली अनुसार ती व्यक्तिहरूमाथि हदैसम्मको कारबाही हुन्छ,” उनले भने। प्रहरीले पनि उनीहरूविरुद्ध फौजदारी कसुरमा पनि अनुसन्धान भइरहेको बताएको छ।

    चोरीमा संलग्न भएको आरोप लागेका एक व्यक्तिले पशुपति क्षेत्र विकास कोषका एक जना पदाधिकारीले आफूहरूलाई चोरीको काम लगाएको बताएका छन्। प्रहरी र पशुपति क्षेत्र विकास कोष दुवैले त्यसबारे थप अनुसन्धान भइरहेको बताएका छन्। “कोषका मानिसहरूले सोधपुछ गर्दा उनीहरूले अरू व्यक्तिहरूलाई पनि पोलेको देखिएको छ। हामीले उनीहरूको बयान लिएपछि थप अनुसन्धान गर्छौँ,” गौशाला प्रहरी प्रमुख थेबेले भने।

    पशुपतिनाथ मन्दिरमा दैनिक दुईदेखि चार लाखको हाराहारीमा भेटी जम्मा हुने गरेको र त्यसरी सङ्कलित रकम पशुपतिनाथकै व्यवस्थापन र तलब भत्ताका लागि खर्च हुने र बचेको रकम अक्षयकोषमा जम्मा हुने गरेको छ।

    कसरी भएको थियो गत वर्षको चोरी ?

    पशुपतिनाथ मन्दिरको पश्चिमी द्वारमा राखिएको दानपात्र गतवर्ष माघ १४ गते हराएको र केही घण्टापछि पुनः यथास्थानमै फेला परेको थियो।

    उक्त घटनाको छानबिनका लागि पशुपति क्षेत्र विकास कोषका सञ्चालक परिषद् सदस्य देवीप्रसाद बरालको संयोजकत्वमा गठन गरिएको सात सदस्यीय समितिले उक्त दानपात्र राखिएका स्थानको सीसीटीभी क्यामेराको तार नै काटिएको पत्ता लगाएको थियो।

    “घ्याम्पो राखिने ठाउँमा जडान भएका सीसीटीभी क्यामेराको तार काटिएको भेटियो। त्यसपछि घ्याम्पोको चाबी भएकै मानिसहरूले भित्र पट्टिको एउटा कोठामा घ्याम्पो लगेर बहुमूल्य सामग्री झिक्ने अनि फेरि घ्याम्पो ल्याएर राखिदिने गरेको छानबिन समितिले औँल्याएको थियो,” संयोजक बरालले बीबीसी न्यूज नेपालीसँग भने।

    पशुपति क्षेत्र विकास कोषमा करिब ३०० जना कर्मचारीहरू कार्यरत छन्। घ्याम्पो चोरीको घटनाबारे छानबिनका लागि गठन भएको समितिले चोरीमा प्रत्यक्ष संलग्न व्यक्तिहरू तोक्न नसके पनि आफ्नो पदीय जिम्मेवारी पूरा नगरेको भन्दै २८ जना कर्मचारीहरूमाथि कारबाही गर्न सुझाव दिएको थियो।

    “समितिले पदीय जिम्मेवारी पूरा नगरेको निष्कर्ष निकाल्दै कारबाहीको सिफारिस गरेका कसैलाई पनि कारबाही भएन। यसमा सदस्यसचिव र जिम्मेवार अधिकारीहरूले आँखा चिम्लनुभयो,” बराल भन्छन्। “त्यस्तो घटनामा पनि कसैलाई दण्ड नभएपछि चोरी रोकिएन।” विसं २०६९ साल फागुनमा पनि पशुपति क्षेत्रमा राखिएको दानपात्रमा चोरी भएको थियो।

    त्यसबेला पशुपतिनाथ मन्दिर छेउमा रहेको बूढानीलकण्ठ मन्दिरसँगै राखिएको दानपत्रबाट नगद चोरी भएको थियो। तर त्यो बेलाको चोरी यो पटक र गत वर्षको भन्दा फरक शैलीको भएको जानकारहरू बताउँछन्। त्यसबेला रातिको समयमा चोरले दानपात्र फुटाएर नगद लगेको थियो।

    पशुपति क्षेत्र विकास कोषले त्यसबेला पनि समिति बनाएर उक्त घटनाको छानबिन गरेको थियो। घटनाको दुई सातापछि प्रहरीले पशुपति क्षेत्रभित्रै बस्ने एकजना व्यक्तिलाई उक्त चोरीको आरोपमा पक्राउ पनि गरेको थियो।

    छानबिन समितिको सुझाव
    छानबिन समितिले पशुपति क्षेत्र वरपर तत्काल सीसीटीभी क्यामेराहरू जडान गर्न मन्दिर क्षेत्रको सुरक्षा थप मजबुत बनाउन सिफारिस गरेको बराल बताउँछन्। “हामीले भट्ट पुजारीहरूको क्षेत्रमा पनि सीसीटीभी राख्न र त्यहाँ खटिने सुरक्षाकर्मीहरूको एक वर्षमा सरुवा हुने व्यवस्था गर्न सुझाव दिएका थियौँ,” उनले भने।

    पशुपति क्षेत्रमा सुरक्षाकर्मीहरू लामो समय रहँदा चोरीमा संलग्न व्यक्तिहरूले उनीहरूसँग साँठगाँठ गर्ने आशङ्का छानबिन समितिले गरेको थियो। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव थापा प्रतिवेदनका केही विषयहरू कार्यान्वयन भएको बताउँछन्। तर केही कर्मचारीहरूमाथि विभागीय कारबाहीको सिफारिस भने पर्याप्त प्रमाणको अभावमा कार्यान्वयन नभएको उनले दाबी गरे।

    “प्रमाणबिना हामीले यत्तिकै गर्ने कुरा भएन। हामीले त्यसबारे सूक्ष्म अध्ययन गर्दै थियौँ,” उनले भने। “नियम सङ्गत भएको कुरा कारबाही नगर्ने भन्ने हुँदैन। कारबाही अघि बढाउन सबुत त चाहिन्छ नि हैन?” छानबिन समितिबारे त्यसबेला पनि पशुपति क्षेत्र विकास कोषका कतिपय अधिकारीहरूले प्रश्न उठाएका थिए। केही व्यक्तिहरूले बयान दिन समेत अस्वीकार गरेको समितिका संयोजक बरालले बताए।

    पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव पशुपति क्षेत्रको भेटीलाई शिवस्व मानिने र यस्तो भेटी लैजाँदा राम्रो नहुने धार्मिक विश्वास रहेको बताउँछन्। “तर यस्तो नबुझ्ने केही मानिसहरूले चोरी पनि गर्छन्,” उनले भने। बीबीसी नेपालीबाट

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ