काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले सांसद विनोद चौधरीमाथि छानबिन गर्दैछौं भनेर सभामुखलाई पत्र लेख्नुको कारण उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा सांसद बडूले संविधानमा फौजदारी कसुरमा अनुसन्धानका लागि सांसदलाई पक्राउ गर्दा मात्र सभामुखलाई जानकारी गराउने संवैधानिक व्यवस्था रहेको स्मरण गरे ।
तर सांसद चौधरीको हकमा छानबिन गर्दैछौं भनेर पत्र पठाइएको भन्दै उनले भने, ‘ह्यारेसमेन्ट गर्ने मात्र उद्देश्य हो कि ? आफ्नो ठाउँ लिइहाल भनेर हो कि ? पूर्वाग्रह राखेको हो ?’
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हालै मात्र सभामुखलाई पत्र लेखेर बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको विषयमा सांसद चौधरीबारे अनुसन्धान भइरहेको जानकारी गराएको थियो । त्यसको भोलिपल्ट चौधरीले सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेर बयान दिएका थिए ।
प्रतिक्रिया