काठमाडौं । सूर्यदर्शन सहकारीका पीडितहरुले आफूहरुको वचत फिर्ताको वातावरण बनाइदिन प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गरेका छन् ।
सूर्यदर्शन सहकारी पीडितका तर्फबाट संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई ज्ञापन पत्र बुझाउँदै वचत फिर्ताको वातावरण बनाइदिन आग्रह गरेका हुन् ।
सूर्यदर्शन सहकारीमा दुई वर्षयता १८ हजार ७ सय जना वचतकर्ताको १ अर्ब ४० करोड रुपैयाँ फिर्ता पाउन बाँकी रहेको भन्दै उनले यसको फिर्ताका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।
सञ्चालक समितिका पदाधिकारीविरुद्ध उजुरी दिए पनि सहकारीका अध्यक्ष जीबी राईसहित १४ जना अझै फरार रहेको र सरकारले उनीहरुलाई पक्राउ गर्न चासो नदिएको अध्यक्ष श्रेष्ठले बताए ।
हामी कानुनी प्रक्रियामा गएको पनि आठ महिना भइसक्यो । ‘तर यो राज्यका प्रतिनिधिले सुशासनको कुरा गरिरहँदा हामी सुशासन होइन, कुशासनको चपेटामा परिरहेका छौं’, उनले भने ।
अध्यक्ष श्रेष्ठले सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी राईलाई कसले लुकाएको छ भनी प्रश्न गरेका छन् । ‘कसले लुकाएका छन् हामीलाई जवाफ चाहिएको छ, जीबीलाई पक्राउ गरेर ल्याउँदा कसलाई नाफा नोक्सान हुन्छ ?’, उनले भने, ‘सूर्यदर्शनाका वचतकर्ताले आन्दोलन सुरु गरेपछि ३/४ पटक सरकार परिवर्तन भए तर अहिलेसम्म पीडितको समस्या समाधान भएको छैन ।’
गलत नियत भएका मान्छेले सुनियोजित ढंगले सहकारीको वचत दुरुपयोग गर्दा हजारौंले विगतमा आफैंले जम्मा गरेको रकम आफू संकटमा पर्दा फिर्ता पाउन नसकेको उनको भाइ छ ।
प्रतिक्रिया