भीमदत्त । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सम्बद्ध क्रान्तिकारी युवा संगठन भीमदत्त नगर विकास समितिका अवैध लिज खारेजको माग गर्दैै आन्दोलनमा उत्रिएको छ ।
संगठनले बुधबार लिज खारेजीका लागि भीमदत्त नगर विकास समितिको कार्यालयमा कालो ब्यानर टाँगेको छ । संगठनका नेता कार्यकर्ताले विहान नगर विकास समितिको कार्यालयमा कालो ब्यानर लगाएका हुन् ।
संगठन सुदुरपस्चिम संयोजक दिपेन्द्र ऐरीले अवैध रुपमा दिइएका सबै लिज खारेजका लागि ब्यानर लगाइएको बताए । ‘नियम प्रक्रिया मिचेर जे जति लिज दिइएका छन्, ती सबै खारेजीको माग गरेका छौ’ उनले भने ।
भीमदत्त नगर विकास समिति हुन अघि तत्कालिन महेन्द्रनगर विकास समितिले समितिको निर्णय नगरी अध्यक्षको तोक आदेशमा विभिन्न व्यक्ति र संस्थालाई जग्गा लिजमा दिएको थियो । तत्कालिन समितिले समितिको निर्णय बिना जग्गाको बेचबिखन समेत गरेको थियो ।
नगर विकास समितिको अवैध जग्गा बिक्री र लिज सम्बन्धि मुद्दा विशेष अदालतमा विचाराधिन छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समितिका पूर्व अध्यक्ष सहित कर्मचारी, जग्गा लिने व्यक्ति सहितको नाममा दुईवटा मुद्दा विशेष अदालतमा दायर गरेको थियो ।
अख्तियारले अदालतमा मुद्दा दायर गरेपछि समितिका सबै कर्मचारी निलम्बनमा छन् । संघीय संरचनापछि नगर विकास समिति स्थानीय सरकार मातहत आएपछि भीमदत्त नगर विकास समिति नामाकरण गरिएको थियो ।
भीमदत्त नगर विकास समितिका अध्यक्ष भीमदत्तका मेयर पदम बोगटी जिल्ला बाहिर छन् । मेयर बोगटी ससुराली भेटघाटका लागि अछाम पुगेका छन् । मेयरको सचिवालयका सहयोगीले मेयर बोगटी वैद्यनाथधाम दर्शन गर्न लागेको तस्बिर सार्वजनिक गरेका छन् ।
भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले नगर विकास समितिको कार्यालयमा लिज खारेजीका लागि ब्यानर लगाएकाले कार्यालयको ध्यानाकर्षण भएको बताए ।तत्कालिन महेन्द्रनगर विकास समिति २०६० पछि अध्यक्ष भएका अधिकाँश अध्यक्षको कार्यकालमा अवैध रुपमा जग्गा कारोबार गरिएको हो । समितिका तत्कालिन अध्यक्षहरु पल्टु राना, गोपाल रसाइली, कान्तुराम पनेरू जग्गा अनियमितामा मुछिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार जग्गा घोटालमा प्रकरणमा समितिका अध्यक्ष, कर्मचारी, मालपोत र नापी कार्यालयका कर्मचारी तथा जग्गा खरिद गर्ने व्यक्ति गरी एक सय ८० जना विरुद्ध मुद्दा छ । अख्तियारले मुद्दा दायर गरेपछि समितिका सबै कर्मचारी निलम्बनमा परेपछि कामकाज ठप्प छन् ।
सरकारले महेन्द्रनगर क्षेत्रलाई व्यवस्थित सहरीकरणका लागि २०३५ मा ६ सय ३८ बिगाहा जग्गा अधिग्रहण गरी नगर विकास समिति गठन गरिएको थियो । नगर विकास ऐन अनुसार समितिको निर्णय गरी जग्गा बिक्री गर्न पाउने वा लिजमा दिने अधिकार दुरुपयोग गरी तोक आदेशका आधारमा दिइएको थियो ।
भीमदत्त नगरपालिका मातहत आएपछि नगरपालिका सबै वडामा नगर विकास समितिको चार किल्ला कायम गरिएको छ । यस अघि महेन्द्रनगर बजार सहित वनखेत, सालघारी, भगतपुर क्षेत्रमा नगर विकास समितिको क्षेत्र थियो । हाल नगर विकास समितिमा ६० बिगाहा जग्गा बाँकी भएको कर्मचारीहरु बताउँछन् । बाँकी जग्गा पनि विभिन्न व्यक्ति र संस्थाको नाममा अतिक्रमण गरिएको छ ।
प्रतिक्रिया