• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मृत्युसंग लड्दै अछामकी उर्मीला, भन्छिन्- मलाई सहयोग गरि बचाईदिनुहोस्

    18.1K
    SHARES

    काठमाडौँ । कैलालीको लम्कीचुवहा नगरपालिका-३ चिसापानीको एक पुरानो घरमा पल्टिएकी छिन अछामकी उर्मीला थापा। साथमा छन् ८ बर्षका छोरा र ५ बर्षकी छोरी ! अर्की ३ बर्षकी छोरीलाई थाहा छैन के भइरहेको छ घरमा । छेउवैमा छन् उर्मीलालाई अडेस लागाएर उठाउने उनका श्रीमान लक्षमण थापा । साना छोरा छोरी भने बुबा एकछिन मात्रै कोठामा नहुँदा पल्टिएकी उर्मीलाले घाउ दुखेर रुँदा टालोले आसु पुछिदिन्छन् । उनीहरु आमालाई उठाउन सक्दैनन् बरु आमालाई उठाउन नसकेकोमा आफै रुन थाल्छन् ।

    आजभन्दा करिब ९ बर्ष अघि उर्मिला थापाका खुट्टा सुन्निन थाले । त्यतिबेला उनको गर्भमा पहिलो सन्तान हुर्किदै थियो ।  उनले सकेसम्म सहदै बासिन्, पछि अलि गार्हो नै हुन थालेपछि उनि अछाम जिल्ला अस्पताल पुगिन् । डाक्टरले सामान्य जाँच गरेपछि केहि औसधि थमाए । उनि गर्भावति भएकाले धेरै औषसधी खाने कुरो पनि भएन । उनि घर फर्किइन् ।

    बिराम बढ्दै थियो, उनले जेठो सन्तानको रुपमा छोरालाई जन्म दिइन् । केही महिनापछि उनि फेरि अछाम जिल्ला अस्पताल पुगिन् त्यहाँ के भएको हो भन्ने नै थाहा भएन र ठुलो अस्पताल जान भनियो । अलि पैसा जम्मा गरेर उनि अछामकै बयालपाटा अस्पताल पुगिन् । त्यहाँ पनि केहि  हुन सकेन । उनका दुईटै खुट्टा सुन्नीने र दुख्ने गर्थे । तर खुट्टाका प्रत्येक भागको भिडियो एक्सरे गर्दा पनि कहिँ कतै कुनै पनि समस्या देखिएन । यता उर्मीलाको दुखाइ भने झन् झन् बढ्दै गइरहेको थियो ।

    केहि दिनपछि उनको दुखाइ ढाडमा सर्यो र उनि सामान्य उठबस पनि गर्न नसक्ने भइन् । अछामका कुनै पनि अस्पतालमा उपचार सम्भव नभएपछि अछामदेखि धनगढी, बुटवल, नेपालगंजल, कोहलपुर भ्याएसम्म सबै हस्पिटल धाए तर कतै पनि उर्मिलाको न त समस्या पत्ता लाग्यो न त उनलाई आराम नै भयो । लामो समयपछि मात्रै थाहाभयो, उर्मीलालाई अस्टियो पोरोसिस अर्थात् हड्डी खिइने रोग लागेको रहेछ ।

    यतिबेलासम्म उनको उपचार अब नेपालमा सम्भव नहुने र हप्तादिन भित्रै भारतको हरियाणा लिन डाक्टरहरुले सुझाव दिए ।  नेपालमै चेकप गर्दागर्दै रिणमा पुगीसकेको उर्मीलाको परिवारले उनलाई जसोतसो भारतको अस्पतालमा पुर्यायो । त्यहाँ उनको ५ लाख खर्चमा अपरेशन गरियो । ढाडमा फलामे रड राखियो । औसधि उपचार त्यहाँको बसाई सबै गरि लगभग १० लाखको हाराहारीमा ऋण पुग्यो । साथमा बच्चा पनि थिए । अपरेशपछि उर्मीलालाई अलि आराम भयो र उनका श्रीमान लक्ष्मण ३ वर्ष जति बसे । उनीहरु त्यहाँ बस्दा यता घरमा लक्ष्मणकी दिदी तुलसी थापाले घर हेरिन्, अहिले पनि उर्मीलाको साथमा उनै तुलसी  छन् ।

    उपचार गर्दागर्दै भारतमा ३ बर्ष बसेर घर फर्किन् उर्मीला । अवस्था सामान्य बन्न थालेको थियो, यसै बिचमा उनकी दुई छोरी पनि जन्मिइन । उर्मीलाका श्रीमान कमाउदै श्रीमतीको उपचारमा खर्च भएको ऋण तिर्न खोज्दै थिए । घरको अवस्था सामान्य बन्ने ठुलोआश थियो परिवारमा ।

    तर यहि बेला २०७२ को भूकम्पले चर्किएको घर गत कार्तिक २२ गतेको भूकम्पले पुरै भत्काइदियो, जसकारण उनको परिवार खुल्ला आकासमुनि बस्न बाध्य भयो । फेरी थापा परिवारमा ठुलै बज्रपात पर्यो ! छोराछोरीलाइ खान लाउन, श्रीमतिको स्यहार सुसार गर्न र भत्किएको घर बनाउन उर्मीलाका श्रीमान एक्लैलाई हम्यहम्य भयो उनि बाहिर कतै निस्किन पाएनन् ।

    यस्तो समयमा पनि उनले सरकारबाट कुनै सहयोग पाउन सकेनन् । यो देशमा पनि सरकार छ भने थापा परिवारले महसुसै गर्न पाएको छैन ।  भूकम्प पिडितलाई भनेर त्रिपालहरु पनि बाडिएका हुन् तर उर्मीलाको परिवार सरकारको पहुँचभन्दा टाढा छ । उनको नत सरकारसंग कुनै नाता छ न त कोहि कर्मचारी नै छन् नजिकका । १ वर्षअघि उनले भोट दिएर निर्वाचित भएका जनप्रतिनिधि पनि चिन्दैनन् उर्मीलालाई । ‘आफ्नै शरीरले नै साथ नदिएपछि सरकार खोज्दै जान सकिएन…!’ आशु झार्दै उर्मीलाले भनिन् ।

    जसो तसो जीवन गुजारा चलाइरहेका उर्मीलाको परिवारमा फेरी अर्को बिपत्ति आइलाग्यो, अर्थात उनको ढाडको रड नै भाँचियो । त्यसपछि गत जेठ ७ गते उनीहरु भत्किएको घरमा बुढी आमालाई छोडेर हिड्न बाध्य भए । उनीहरु कैलाली झरे र उर्मीलालाई असारको दोश्रो हप्ता काठमाडौँको सुन्धारास्थित ट्रमासेन्टरमा ल्याइयो । यसअघि चैतमा पनि उनलाई ट्रमा सेन्टरमा ल्याइएको थियो ।

    ‘त्यतिबेला ट्रमासेन्टरका डाक्टरले सकिने सहयोग गर्न तयार छौं भनेका थिए । यतै उपचार हुन्छ पनि भनेका थिए । त्यतिबेलाको उपचारमा अछामकै सिद्द ढुंगानाले सहयोग गरेका थिए तर अर्कोपटक हेर्दा भने पहिले उपचार गरेकै अस्पताल (इन्डिया) नै जान भनियो ।

    उनीहरुले यसअघि भारतमा अपरेशन गरिएको हस्पिटलमा पटक पटकक देखाएका थिए, पहिलोपटक जाँदा हड्डी राम्रोसँग नमिलेको र अहिले रड निकाल्ने पर्ने बेला नभएको भन्दै घर फर्काइ दिएको थियो । अर्को पटक जाँदा पनि रडले ८-१० वर्ष काम गर्ने भएकाले जहिले निकाले पनि हुन्छ भनेरै उनलाई घर फर्काइ दियो । अर्को बर्ष जाँदा भने उर्मीलाले पहिलेको डाक्टर भेटिनन् र अरुले हेर्न मानेन ।

    ‘अर्कोपटक जाँदा पहिलेको डाक्टरसङ्ग भेटेर देखाउनै पाइएन । अस्पतालका अरु डाक्टरले हामी हेर्न सक्दैनौं भने । अरु डाक्टरले हेर्न सक्दैनौं भनेपछि फर्किनै पर्यो’ उर्मीलाका श्रीमान लक्षमणले भने- ‘अहिले त  पहिलेको ठाउँमा गएर उपचार गर्न १२ लाख खर्च लाग्ने भएको छ । हामी गरिबले कहाँबाट ल्याउनु तेत्रो पैसा ?’  लक्षमण थप्छन् ‘ घरमा बुढी आमा हुनुहुन्छ । भाई सानै छ, भर्खरै एसईई दियो सहयोग गर्न सक्ने अवस्थामा छैन । अरु दाजु भाइ छैनन् । अहिले घरमा दिदीले सहयोग गरिरहनु भएको छ उहाँकै भरमा छ यो परिवार ।’

    अहिले उर्मीलाको बोल्नसक्ने अवस्था छैन । यो साउने झरी र भेल जसरि आँसु मात्रै बग्ने गर्छन उनका आँखाबाट । श्रीमान लक्षमणले उठाउँदा खाना खुवाउँदा साथमा स्कुले उमेरका छोराछोरीको मलिन अनुहार देख्दा उर्मीलाले खानखोजेको गाँस पनि अड्किन्छ ।

    आमालाई सन्चो भयो कि भएन भनेर सोधिरहन्छन् ८ बर्षिया छोरा । आमा रुँदा संगै रुन्छन् उनका छोराछोरी पनि । अब त श्रीमतीलाई बचाउन सकिन्छ कि सकिन्न भनेर तनाव हुने गरेको सुनाउछन् लक्षमण थापा । उनले श्रीमतीको जीवन रक्षाका लागि सबैलाई अनुरोध गरेका छन् ।

    गहभरि आँशु पार्दै उनि भन्छन् ‘ उपचार गर्दागर्दै भएको जमिन जति सबै सकियो घर पनि बेचेर उपचार गरौँ ,घरै छैन भूकम्पले भत्कायो । अहिले बच्चालाई खुवाउने खाना पनि छैन । यस्तो परिस्थितिमा सहोग गरिदिन म नेपाली दाजुभाई दिदीबहिनीलाई बिन्ति गर्न चाहन्छु।’

    यता उर्मीलाले पनि आफुलाई बचाईदिन सबैलाई अपिल गरेकी छिन । ‘अहिले म रोगले थला परेकी छु, के गरूँ उपचार गर्दा- गर्दा घरै रित्तियो, बच्चा बच्चीलाइ खुवाउने खाना पनि छैन । सक्नुहुन्छ भने मलाई सहयोग गरि बचाईदिनुहोस न ! मैले सानी छोरीलाई दुध पनि पिलाउन सकिन । मलाई आफ्नो भन्दा बढी चिन्ता यी बच्चाबच्चीको लाग्छ । यी दुधे बच्चाको आमाको हालत यस्तो छ… ।’ उर्मीलाले भक्कनिदै भनिन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ