• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    प्यान्डोरा पेपर्स- किया गाडीका बिक्रेता सुहृदराज घिमिरेको कालो धन ‘ट्याक्स हेभन’ मा

    1.6K
    SHARES



    काठमाडौँ । नेपालस्थित किया र इसुजु गाडीका आधिकारिक बिक्रेता सुहृदराज घिमिरेले कर छली गरेको धन ट्याक्स हेभन मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा लुकाएको भेटिएको छ । कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष घिमिरेले अफशोर लगानी गरेको अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नलिष्ट’ (आईसीआईजे) ले प्यान्डोरा पेपर्स मार्फत गरेको छ । यो अहिलेसम्मकै ठूलो खुलासा हो ।

    नेपालमा नाम चलेका चौधरी ग्रुप, गोल्छा, सुमार्गी, सराफले जस्तै घिमिरे पनि अवैध तरिकाले आर्जित रकम विदेशमा लुकाउने, देशलाई कर नतिर्ने र त्यही रकम वैदेशिक लगानीका नाममा फेरि स्वदेश भित्र्याउने खेलमा रहेको पुष्टि भएको छ ।

    नेपालको कानुनले यसलाई अपराध मान्छ । यो खुलासासँगै घिमिरे अपराधमा संलग्न भएको पुष्टि भएको छ । आईसीआईजेको रिपोर्ट खोज पत्रकारिता केन्द्रले प्रकाशित गरेको छ । रिपोर्टअनुसार सुहृदराज घिमिरेका व्यावसायिक साझेदार पुरुषोत्तम पौडेलको पनि ट्याक्स हेभन मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी भेटिएको छ ।

    घिमिरे र पौडेलले सन् २००९ मा ब्रिटिश भर्जिन आइल्याण्डमा ग्रान्ड स्पेक्ट्रम एसेट लिमिटेड नामक कम्पनी स्थापना गरेको भेटिएको हो । यी दुवै जना कम्पनीका लगानीकर्तासँगै निर्देशक पदमा समेत रहेको आईसीआईजेका कागजातहरूले देखाउँछ । उनीहरूले कम्पनी खोल्ने क्रममा नेपाली पासपोर्ट प्रयोग गरेका छन् । घिमिरेले एक अमेरिकी डलरका दरले तीन कित्ता र पौडेलले एक डलरका दरले एक कित्ता शेयर खरीद गरेर यो कम्पनी खोलेको हुन् ।

    ‘द बीभीआई बिजनेस कम्पनी एक्ट, २००४’ ले यो कम्पनीलाई एक डलरका दरले अधिकतम ५० हजार कित्ता शेयर जारी गर्न सक्ने अधिकार दिएको छ । यो कम्पनीको रजिष्टर्ड एजेन्ट ब्रिटिश भर्जिन आइल्याण्डकै ओभरसिज म्यानेजमेन्ट कम्पनी हो ।

    सन् २००९ मा नेराइन ट्रष्ट कम्पनी एजेन्ट रहेको यसले सन् २०१० मा एजेन्ट परिवर्तन गरी ओभरसिज मार्फत काम गर्न थालेको हो । यसरी एजेन्ट परिवर्तन गरिदिने काम सिंगापुरको ‘एक्सप्रेस को रजिष्ट्रेसन एण्ड म्यानेजमेन्ट पिटिई लिमिटेड’ले गरिदिएको देखिन्छ ।

    घिमिरे र उनका साझेदार काठमाडौं कपनका पौडेल नेपालको चर्चित ‘ललिता निवास जग्गा प्रकरण’मा समेत जोडिएका व्यक्ति हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा विशेष अदालतमा दायर गरेको आरोप–पत्रमा उल्लेख भए अनुसार पौडेल र घिमिरेकी सासू इन्दु शर्माको नाममा बालुवाटारस्थित ललिता निवास परिसरमा जग्गा छ ।

    यसमध्ये ७६३.११ वर्ग मिटर सरकारी जग्गा पौडेलको नाममा कायम भएको छ । डिल्लीबजार मालपोत कार्यालयको अभिलेख अनुसार, १२ आना जग्गा १३ मंसीर २०६३ मा घिमिरेकी सासू इन्दु शर्माको नाममा राजीनामा पास भएको छ । उनीहरू विरुद्धको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

    सन् २०१३ मा आईसीआईजेले नै गरेको अफशोर लिक्समा समेत घिमेरेको नाम समावेश थियो । त्यतिवेला सार्वजनिक भएको विवरण अनुसार घिमिरेको नाममा ब्रिटिश भर्जिन आइल्याण्डमा इको बे लिमिटेड नामक कम्पनी छ । पुरुषोत्तम पौडेल पनि उक्त कम्पनीका लगानीकर्ता हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ