• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    …अनि बादल फलामको कुर्सीमा बसे

    3.9K
    SHARES



    काठमाडौं । बुधबार बिहान ११ बजेदेखि ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा एमाले स्थायी कमिटी नेताहरु भेला हुन थाले । स्थायी कमिटी सदस्यसँगै केही केन्द्रीय सदस्य पनि तुल्सीलाल स्मृति भवनमा पुगे । त्यसपछि नेताहरु भवनको तेस्रो तलामा उक्लिए । नेताभन्दा अगाडि नै भवनको प्राङ्गणमा पुगेका सञ्चारकर्मी पनि माथि लागे ।

    भवनको तेस्रो तलालाई पछिल्लो समय एमालेले बैठकस्थल बनाएको छ । अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदबाट बहिर्गमन भएपछि त्यहाँ एमालेले पार्टी बैठक गर्दै आएको हो । बुधबार पनि त्यही हलमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन र १० बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम थियो । जसका लागि अध्यक्ष ओलीसहित स्थायी कमिटी सदस्यहरु बस्ने गरी मञ्चको व्यवस्था मिलाइएको थियो ।

    मञ्चको पहिलो लहरमा अध्यक्ष ओलीका लागि एउटा कुर्सी, दायाँतिर दुईजना अटाउने एउटा सोफा र बियाँतिर तीनवटा कुर्सी राखियो । बायाँ तिरका तीनवटा कुर्सीपछि तीनवटा फलामका कुर्सी थिए ।

    पत्रकार सम्मेलनमा पुगेका एमाले नेताहरु पदीय हैसियत अनुसार मञ्चमा बसे । ओलीका लागि राखिएको कुर्सीको दायाँतिर महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल आसीन भए ।

    बायाँतिर उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य बसे । उनीहरुका छेउमा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि बसे । एमाले सचिव र स्थायी कमिटी सदस्यहरु दोस्रो र तेस्रो लहरमा गएर बसे । नेताहरु आउने क्रम जारी नै थियो ।

    माओवादी परित्याग गरी एमालेमा आएका र माधव नेपाल छाडेर ओलीमा विलीन भएका नेताहरुले गर्दा एमाले स्थायी कमिटी सदस्यको संख्या करिब बढी दुई दर्जन थियो । जसमध्ये अधिकांश सदस्य पत्रकार सम्मेलनमा आएपछि मञ्च भरिसकेको थियो । त्यहीबीचमा एमाले नेता रामबहादुर थापा बादल पनि पत्रकार सम्मेलनमा आइपुगे । अनि उनी मञ्चमा चढे, जतिबेला नेम्वाङ बस्ने कुर्सी खाली थियो ।

    नेम्वाङ ओलीका लागि राखिएको कुर्सी नजिकै उभिएका थिए । पहिले उनी बसेको कुर्सीमा बादलको नजर लाग्यो । उनका पाइला नेम्वाङको लागि राखिएको कुर्सीतिर मोडिए । अनि नेम्वाङ पनि हतारिँदै आफ्नो कुर्सीतिर लागे । त्यसपछि बादल पछि हटेर छेउमा राखिएको फलामको कुर्सीमा बसे ।

    त्यतिञ्जेल पनि मञ्चमा ओलीको आगमन भएको थिए । बरु माधव नेपालको साथ छोडेका एमाले उपाध्यक्ष भीम रावल कार्यक्रममा आइपुगे । केही समय रावलले पनि कुर्सीको खोजीमा उताउता हेरे । पहिलो लहरमा नेताहरु बसिसकेका थिए । तर, रावलले ईश्वर पोखरेल र विष्णु पौडेल बसेको सोफामा नजर लगाए ।

    ईश्वरलाई आफ्ना लागि ठाउँ खाली गर्न इसारा गरे । उनी पनि पौडेल भएकातिर सरे । अनि रावल ओली बस्ने कुर्सीको दायाँतिर कोच्चिएर बसे ।१० बुँदे कार्यान्वयनको मोडालिटी बनाउन महासचिव पोखरेल नेतृत्वमा गठित समितिको सदस्य भएर बसेका उपाध्यक्ष रावलले मञ्चमा भने उनीभन्दा सिनियर देखाउन खोजेको देखिन्थ्यो ।

    ६ जना पदाधिकारीसहित ९ जना स्थायी कमिटी सदस्य माधव नेपाललाई छाडेर ओलीतिर लागेपछि पूर्व माओवादी पंक्ति किनारा लागेको देखिन्छ । मंगलबारको फोटोसेसन र बुधबारको मञ्च व्यवस्थापनले एमालेमा बादल समूह किनारा लागेको देखाउँछ ।

    मंगलबार बसेको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने निर्णय गरेपछि पूर्व माओवादी नेताहरुको जिम्मेवारी पनि खोसिएको छ । नेकपाकालीन समयमा तेस्रो नेताको हैसियत पाएका बादल यतिबेला ८ औं बरियतामा झरेका छन् ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ