• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विचार-ब्लग

    सपनामा रमाएको रात

    10K
    SHARES



    हरेक वर्ष आउछन शहिद सप्ताह र शहिद स्मृतिहरु । त्यो दिनहरु आउदा मात्रै होइन मैले यो देश र जनताको लागि बलिबेदिमा होमिएको शरिरलाई सम्झने । कयौ अप्ठेरोबाटोहरु पार गर्न पनि म तिनीहरुको बदिलान सम्झने र सम्मान गर्ने गर्छु । कहिलेकाही मनमा गतल भावनाका छालहरु आउँदा कठिन यात्रा गर्नु पर्दा तिमीहरुले हाँसी-हाँसी आफुलाई सिद्धाएको सम्झेर आट बटुल्छु र आफुलाई दरिलो बनाउछु । जो भौतिक रुपमा उपस्थित छैनौं, छौ त मात्र सम्झनामा । त्यसैले त टक्क पाइलाहरु रोकाएर सोच्छु र निर्णय गर्छु ।

    जाजरकोट जिल्लाको बारेकोटमा जन्मिएको बीर शहिद मुना सिंह कमरेड पबित्रा नेपाली जनयुद्धको एउटा चम्किलो तारा, जो शहिद भइन यो देश र जनताको लागि । आफनो भौतिक शरिर वर्गमुक्तिको लागि अपर्ण गरेर सर्वहारावर्गको लागि चम्कीलो नक्षेत्र बनेर चिम्कीरहेकी छन ।

    कमरेड पबित्रा त्यो दिन, तिमी दुश्मनको पहिलो निशानामा परेको खबर सुने । तिम्रो दुबै खुट्टामा गोली लागेर घाईते अबस्थामा दोहोरो पिडाको सामना गर्दै आत्मबल उच्च बनाएर बसेकी थियौं रे । अझै पनि बाँच्ने आशा बोकेर मलाई बचाँउनुस कमरेड भनेर जीबनको अन्तिमसम्म पनि साथ माग्दै थियौ रे । अरु साथीहरुले छोडे पनि उषा मलाई साथमै लैजानु भनेर मेरो नाम लिदै थियौ रे ! कस्तो बिडम्बना प्रिय, जो मेरो जीबनभन्दा प्यारो मान्छे थियो उसैले मलाई बचाउ, मलाई पनि बाँचेर क्रान्ति गर्ने रहर छ भन्दै रुँदै गर्दा जल्लादहरुले छाती मै सँगिन रोपेर तिमीलाई मारे । तिमीले बलिदानको कोटामा सुनौला अक्षरले नाम लेखायौ ।

    चौतर्फी दुश्मनको घेरा ! दिनभरीको लडाईको थकान ! न खाना न पानी । लगातारको हिडाइ अनि तिमिसँग सदाको लागि भएको भौतिक बिछोड सम्झिँदा आकाश खसेको जस्तो आभास, धर्ती फाटिएको जस्तो भयानक तिम्रो यादमा हराएको पल, त्यो पिडा अहिले जस्तो लाग्छ ।

    तिमिसँगै बिताएको पाँच बर्ष कति उल्लासमय थियो । हामी सँगै लडेर बिजय प्राप्त गरेर फर्केका ऐतिहासिक मोर्चाहरु । दाङको घोराही,सतबरिया,रुकुमको पहिलो र दोस्रो खारा, रोल्पाको लिस्ने गाम, अर्घाखाँचीको सन्धिर्खक, जुम्लाको खलङ्गा, मोरङको बेलबारी, भोजपुरको रिपिटर टावर, भोजपुरको ऐसेलुखर्क,इलामको पशुपतीनगर, तेह्रथुमको देउराली भन्ज्याङ, बर्दियाको भुरिगाँउ रम्भापुर, गणेशपुर, ठाकुरद्वारा, कैलालीको कर्णाली चिसापानी र कालिकोटको पिलिइ भिमकाय सबै लडाई जितेर आएको बेला कति खुशी थियौं । हामी देश परिवर्तनको महान यात्रामासँगै सहयात्री थियौ ।

    तिम्रो यादले नतड्पिएको सायद कुनै पल छैन तर मेरो तड्पाइ तिमीसम्म पुग्छ वा पुग्दैन मलाई थाहा छैन । मेरा अध्यारारातहरुको प्रत्येक सपनीमा तिमी आयौ र सपनाको पुरै समय बिछोडका दिनहरुको स्मरण गर्दै खुशी भएर रमाइलो महशुस गरे । मात्र त्यो सपना थियो, बिपना त भयंकर पो थियो त प्रिय तिम्रो बिछोडमा । तिमीसंगको सपनामा यो महशुष गर्दै थिए अब तिमीसंग बिछोडिन नपरोस । त्यो सपना पाहुना थियो चाहेर पनि बिपना हुन सक्दैन मेरो लागि ।

    हामीले रोजेको महासमरको यात्रा कल्पना गरे जस्तो सहज थिएन। कठिन सँघर्षको बीचबाट उज्वल भिवश्यको खोजीमा भौतारिएको हाम्रो बालापन जोस जाँगर र उत्साहले भरिपुर्ण थियो । हाम्रो मिलनको पहिलो क्षण २०५८ साल ! सरकार र माओवादीको बार्ता भङ्ग भएसँगै दाँङ घोराहीको आक्रमणको पूर्व तयारीमा जुट्दै गर्दा सल्यानको दामाचौरमा भेट भएको थियो हाम्रो । तिमी जाजरकोटको जिल्ला प्लाटुनमा थियौ म कालिकोटको । अहिले महशुष गर्छु वगिर्य प्रेम त्यो प्रेम रहेछ जुन हजारौ आफन्तभन्दा प्यारो तिमी मेरो त्यहि वगीर्य साथी थियो, जो हजाराैं आफन्तभन्दा प्यारो र मुल्यवान थियाे ।

    वर्गिय मायाले जोडिएका सम्बन्धहरु स्पात हुने रहेछन । पहिलो भेटमा नै हामी एक आपसमा निकटको साथी भयौ । कहिलेकाँही घर परिवारको याद मेटाउने तिष्णा मेटाउने माध्यम बन्यो हाम्रो सम्बन्ध । एकछिन नदेख्दा संसारमा एक्लो महशुष हुन थाल्थ्याे ।

    आज तिम्रो अनुपस्थितीमा मैले बिताएको निस्पट्ट रातहरुको बयान म कसरी गरुँ ? र कोसँग पोखौं तिमीले मलाई हार्माेनियको धुनसँगै बर्गिय मुत्तीका गित गुनगुनाउन सिकाएको ? मैले तिमिलाई दुश्मनको क्यापहरु ध्वस्त पार्न जान राइफलको टिगरमा औला राखेर पडकाउन सिकाएका दिनहरु आजै जस्तो लाग्छ ।

    हाम्रो बिछोडको निस्पट्ट दिन बन्यो २०६२÷९÷२९ गते स्याङजाको मनकामना भिडन्त । त्यही दिन हो हाम्रो अन्तिम भेटघाटको दिन । मध्यान्हको समय उनलाई भेट्न उनको सेल्टर नजिकै पुग्दै थिए,  मनमा अनौठो भावको छटपटावट भइरहेको थियो । तिमीलाई भेटौ वा नभेटि फर्काैं दोधारमा थिए । मेरो हातमा सानो क्याचिबो रेडियो थियो ।

    मिरमिरे एफएमबाट औठी चिनो छ मायाको सम्झना फिर्ता दिनु छ भन्ने गित सुन्दै थिए । अचानक बीचमै खतराको आवाज आयो हवाई र पैदल दुश्मनको सम्पर्क हुदैरैछ । हामी त माओवादीले भैसी काटेको ठाँउमा आइपुग्यौ, कहाँनेर बाट फायर खोलौ सर ? यो आवाजले मनलाई झस्कायाे । कसको आवाज हो यो ? आशंकाको बिचबाट नै गोलिको वर्षा शुरु भयो त्यो त करार गरेको दुश्मन पो रहेछ ।

    एक आपसमा कुराकानी भएको सुनेर म हतार हतार आफ्नो टिम तयारी पोजिसनमा राख्नु पर्छ भनेर फर्किए । अनी साथीहरुलाई सोधे कता हो मासु ल्यायको ठाँउ ? उ त्यहाँनेर हो भनेर भन्दै थिए साथीले । एकाएक हवाई र पैदलबाट आएको दुश्मनले फायर खोले र आकाश धर्ती गडगडावट हुने गरी । आकाशमा चिल जस्तै प्लेन र हेलिकप्टरहरु उडिरहेको थिए । टाउको उठाउन नदिने गरी एकोहोर फायरिङ भयो । हाम्रो टिम अस्तब्यस्त थियो कता जाने के गर्ने भन्ने सोच्न नसकिने अबस्था थियो ।

    हामीलाई आफु अनुकुल भुगोल कता र प्रतिकुल भुगोल कता भन्नेसम्म पनि थाहा थिएन । मेरो मनमा निराशाको बादल बाक्लीदै थियो । किन कि मेरो प्रिय साथी बसेकै ठाँउबाट पहिलो फायर सुरुभएको थियो । मलाई मेरोभन्दा पनि तिम्रो अबस्था के होला ? यो लडाईमा हामी संगै लडेर दुश्मनलाई परास्त गछौ र हामी फेरी भोलि उदाउने बिहानीमा वगीर्य प्रेमको अंगालोमा कसीने छौं यही सोच्दै थिए मनमा ।

    दिउँसाेकाे दुई बजेबाट सुरु भएको दोहोरो भिडन्त राती आठ बजेसम्म निरन्तर जारी थियो । यही समयमा कमाण्डरको आदेश आयो, अफेन्स डिफेन्स मिलाएर रिटिट हुने। अफेन्स डिफेन्स मिलाएर आफ्नो टिम सुरक्षीत गरेर फर्किदै थियौं । तिम्रै टिमको एक जना सदस्यले दिदि हाम्रो कमाण्डर खै भन्दै मलाई अंगालो हालेर रुन पो थाल्यो ।

    सायद त्यो क्षण अहिले पनी कल्पना गर्न सक्दिन, जहाँ तिमी मलाई भौतिक रुपमा छोडेर शहिद भैसकेकी रहिछौ । जब तिम्रो सहादत एकिन भयो हातमा समाएको एस.एल.आर राइफल र पिँठ्युमा बोकेको झोलाले पनि साथ छोडे जस्तै लाग्यो । ति डाँडाकाँडा पाखापखेरीहरुले मलाई नै हेरेर रोएकोजस्तो लाग्यो। हजारौ जनमुक्ति सेनाको टिममा पनि आफु एक्लोजस्तो । जीवनमा आधा हिस्सा गुमेजस्तो । एक त हारेको लडाइँको सिपाही अर्काे आत्मीय कमरेडलाई भौतिक रुपमा छोडेर फर्किनु पर्दाको पिडा ! मलाई के सहज हुन्थ्यो र ? बेला बेला सपनीमा आएर झस्काउछौ मलाई ।

    तिमी मलाई भौतिक रुपमले देख्न सक्दिनौ र म तिमीलाई पनि ! तर तिमी मेरो मनमा श्रद्धाको दियो बनेर जलिरहेकी छौं । त्यसैले म प्रत्येक औपचारिक सभा समारोहमा श्रद्धाले शिर झुकाउछु । तिमीलगायत सम्पुर्ण शहिदहरुलाई सम्झिदै गर्दा तिम्रो भौतिक बिछोडको यादले तड्पाइरहन्छ । आज म जहाँ छु त्यो सबै तिमीजस्तै महान शहिदहरुको कारणले छु । तिमीहरुको त्याग समपर्णलाई कहिल्यै पनि अपमान गर्ने छैन ।

    तिम्रो भौतिक अनुपस्थितिमा म यो प्रतिवद्धता गर्छु की मेरो ब्यक्तिगत स्वार्थको लागि तिमीहरुको रगतको अपमान पक्कै पनि गर्ने छैन । तिमीहरुको रगतलाई अपमान गरेका महलभन्दा मेरो लागि पराले झुपडीले लाखौं गुना सन्तुष्टि दिने छ । कमरेड पवित्रा तिमीप्रति लाखौं श्रद्धा सुमन ! लाखौं श्रद्धान्जली !

    नोट: लेखक बम अहिले राष्कोट नगरपालिकाकी उपमेयर हुन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया