• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    नेकपा नेता सुदर्शनलाई अदालतको प्रश्न- ‘तपाईहरुले यो राज्यसत्ता पल्टाउन खोजेको हो ?’ जवाफसहित

    16K
    SHARES



    काठमाडौं । बुधबार प्रहरीले नेकपा स्थायी समिति सदस्य हेमन्त ओली ‘सुदर्शन’लाई सुटुक्क जिल्ला अदालत ललितपुर पुर्यायो । नख्खु घटनाको मुख्य दोषी भएको आरोपमा जिल्ला अदालतको आदेशमा नेता सुदर्शनलाई गत बैसाख १० गते पुर्पक्षका लागि नख्खु कारागार पठाइएको थियो । उनलाई बुधबार पुनः अदालतमा उपस्थित गराइएको हो । अदालतमा उनलाई एउटा मात्रै गम्भीर प्रश्न सोधियो  ।

    त्यो प्रश्न थियो- ‘के तपाईहरुले यो राज्यसत्ता पल्टाउन खोजेको हो ?’ अदालतको प्रश्नको जवाफ नेता सुदर्शनले निक्कै बौद्धिक तरिकाले दिए । अदालतलाई जवाफ दिने क्रममा उनले यो राज्यसत्ता पल्टाउने प्रयास ०७२ साल]देखि नै निरन्तर जारी रहेको बताएका छन् । ‘यो राज्यसत्ता पल्टाउने भनेर हामीले अहिले भनेका हैनौ, त्यो त् २०५२ सालमा प्रचण्डकै नेतृत्वमा भनेका हौ । पछि ०६२/६३ सालपछि बार्ताको प्रक्रियाद्वारा अगाडि बढेर हामीले भन्याजस्तो जनताको सत्ता ल्याउने भनेर उनीहरुले अलमल्याए । अहिले अब हामी त्यहि प्रक्रियालाई निरन्तर अघि बढाइरहेका छौं ।’ उनले भने ।

    नेता सुदर्शनको उत्तर सुनेपछि अदालतले उनलाई पुनः नख्खु कारागार लगेर राख्न आदेश दिएको छ भने प्रहरीले अहिले उनलाई कारागार पुर्याएको छ । नेकपा मध्य केन्द्रीय कमाण्डको इन्चार्ज रहेको अवस्थामा नेकपाले करछली गर्दै आएको एनसेलमाथि ‘कारवाही’ गरेको घोषणा गर्दै नख्खुस्थित मुख्यालयमा बम बिस्फोट गराएको थियो । मध्य केन्द्रीय कमाण्डको इन्चार्जको हैसियतले उक्त  बिस्फोटको जिम्मेवारी लिएसँगै प्रहरीको सर्वाधिक खोजीमा रहेका नेता सुदर्शनलाई महानगरीय प्रहरी अपराध महाशाखाको विशेष ब्युरो र काभ्रे प्रहरी टोलीले गत चैत ९ गते काभ्रेबाट गिरफ्तार गरेको थियो ।

    यसअघि सर्वोच्च अदालतमा पनि उनले काभ्रेबाट गिरफ्तार गरी ललितपुरको ठेचो ल्याएर हातहतियार भेटिएको झुटो रिपोर्ट बनाएर प्रहरीले आफूहरुलाई जबर्जस्ती फसाउन खोजिएको बयान दिएका थिए। प्रहरीले उनको साथबाट हतियार बरामद भएको रिपोर्ट पेस गरेपछि नेता सुदर्शनले ठेचो आइपुग्दासम्म आफूहरुको झोलामा केहि पनि त्यस्तो समग्री नभए पनि मिसिलमा ‘मेड इन जापान’ भनेर लेखिएको पेस्तोल भेटिएको भनी झुटो कुरा उल्लेख गरिएको बताएका छन् । ‘त्यो दिन आफूसँग उक्त ‘मेड इन जापान’ लेखिएको पेस्तोल भइदिएको भए त्यसबेला परिस्थिति भिन्नै हुनसक्थ्यो’ उनले बयानका क्रममा भनेका थिए।

    सुदर्शनसंगै शिव धिमाल, दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर दमाई र विरबहादुर कठायतलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले सुदर्शनसहित ९ जनाको टोलीलाई काभ्रेबाट गिरफ्तार गरेको थियो ।

    उनले गत चैत २७ गते सर्वोच्चमा दिएको बयान उनकै शब्दमा जस्ताको त्यस्तै छ – ”म २ वटा कुरा मात्रै राख्छु । एउटा कुरा हाम्रो केछ भने अलिकति पार्टीका विषयमा राख्न चाहन्छु । हाम्रो पार्टीको समग्र परिचयका बारेमा राख्न चाहन्छु । लामो राख्न चाहान्न । अर्को बिषय जुन चाहिँ विस्फोटक पदार्थ र पेस्तोल सेस्तोल जो भिडाइएको छ नि ? त्यो विषयमा राख्न चाहन्छु । पहिलो कुरा त् हाम्रो पार्टीको विषयमा अलिकति भ्रम छन् । मलाई यहाँसम्म आउदाखेरी मानिसहरुले पुलिसलाई पनि सोध्ने की चाहिँ विप्लवलाई लिएर आउनुभयो भनेर भन्ने यो भ्रम छ। र कसैले नेकपा चन्द भन्छन्, कसैले नेकपा विप्लव भन्छन् । हाम्रो पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हो । यो २००६ सालमा पुष्पलालले गठन गरेको पार्टीको बिकसित रुप हो ।

    त्यसपछि अर्को पार्टी जुन छ नी नेकपा भनेर कोष्ठमा लेख्ने त्यो नक्कली पार्टी हो । त्यसकारण त्यो पार्टीले नेकपा लेख्न पाउदैन भन्ने पनि मेरो उजुरी छ । त्यसपछि मैले के भन्न चाहन्छु भने यो पार्टी भनेको र यसको मार्ग निर्देशक सिद्धान्त भनेको मार्क्सवाद, माओवाद, लेनिनवाद हो । यसको मार्गनिर्देशक सिद्धान्त त्यो भएपछि यसको दर्शन भनेको द्वन्द्वात्मक तथा एतिहासिक भौतिकवाद हो । यसको दर्शन भनेको दक्षिण कोरियाको हाक जा हानमुनको होली वाइन खाएर तपाईको चाहिँ क्रिस्चियन बन्ने पार्टी होइन यो त्यसकारण यसको बिपरित पार्टी हो । र अध्यात्मवादी पार्टी होइन ।

    यो नास्तिक पार्टी हो । आस्तिक पार्टी होइन यो । त्यसकारणले हामी जे छ त्यहि बोल्छौं । त्यसैले गर्दाखेरी चाहिँ म यो सर्वोच्च अदालतको यो इजलाससमक्ष के निवेदन गर्न चाहन्छु भने हामी त्यो बाटोमा, अहिले जुन बाटोमा हिडिरहेका छौं यदि त्यो पुरा गरिदिएको भए प्रचण्डजीहरुले बादलजीहरुले अरु अरुले त्यो बाटोतिरै हिडीदिएको भए आज हामी यो बाटो हिड्नुपर्ने थिएँन ।

    त्यसकारण पहिलो कुरा म उहाँहरुलाई के दोषारोपण गर्न चाहन्छु भने उहाँहरुले मेरी छोरी लगायत १७ हजार ८ सय, पुलिससेना तर्फबाट पनि मरे, १७ हजार ८ सयको बलिदानमाथि जे होली खेल्नु भाछ, जे ऐस आरा गर्नुर्भाछ यसप्रति पनि यो इजलासले, यो सर्वोच्च अदालतले हेरोस र हामीलाई जो दण्डित गर्दैछ हामी दण्डित हुनुपर्ने होकी यतिबेला उहाँहरु दण्डित हुनुपर्ने हो ? यो कुरा चाहिँ विशेषरुपले हेर्नुपर्छ भन्ने मेरो विशेष अनुरोध छ । यो खालको कुरा म गर्न चाहन्छु पहिलो कुरा ।

    हाम्रो पार्टी भनेको त्यो पार्टी हो । जसले मार्क्सवाद, माओवाद, लेनिनवादलाई चाहिँ आफ्नो मार्गनिर्देशन सिद्धान्त मान्दछ । अब म दोस्रो कुरामा कहाँ गए भने चाहिँ हामीलाई काभ्रे जिल्लाको खानीखोलामा पक्राउ गरिएको हो । जुन कुरा यहाँ मिसिलमा सबै कुरा उल्लेख छ । र हामीलाई त्यहाँ पक्राउ गरेर साढे ४ बजे बिहान पक्राउ गरिएको हो ९ गते बिहान साढे ४ बजे । यो घटनालाई सर्वोच्च अदालतले राम्रोसँग हेर्नुपर्छ जस्तो मलाई लाग्दछ । अथवा यो इजलासले हेर्नुपर्छ जस्तो लाग्छ । त्यहाँबाट हामी १२ बजे ठेचाे आइपुगेका छौं । त्यहाँ आइपुग्दासम्म हाम्रो झोलामा केहि पनि छैन । मेड इन जापान लेखिएको त्यहाँ चाहिँ पेस्तोल छ भनेर भनिएको छ । यदि मेड इन जापान लेखिएको त्यो पेस्तोल हुन्थ्यो भने त्यहाँ अर्कै हुनसक्थ्यो स्थिति ।

    र म यसलाई के तुलना गर्छु भने मलाई जहिले पनि २०५५ सालको माघ २९ गते मलाई पक्राउ गर्दाखेरी पनि बाजुराको डोहाेडीमा पक्राउ गरियो । र भोलिपल्ट फागुन १ गते तेस्रो जनयुद्ध दिवस थियो त्यतिबेला तीन बर्ष लाग्दै थियो । त्यतिबेला चाहिँ जिलेटिन हालिएको थियो झोलामा । झुट्टा मुद्दा लगाइएको थियो आज त्यहि दोहोर्याइदैछ फेरी । त्यसो भए मैले १८४४ मा मार्क्सले भन्नुभएको कुरालाई फेरी सम्झनुपर्ने हुन्छ । त्यसलाई आत्मसात गर्नुपर्ने हुन्छ । त्यो केहो भने, निश्चय नै हतियारको आलोचनालाई आलोचनाको हतियारले ठिक गर्न सकिदैन भन्ने कुरा चाहिँ मैले सम्झनुपर्ने हुन्छ र मार्क्सले पूंजीमा उल्लेख गर्नुभाछ की ‘कहिले पनि कानुनले क्रान्ति गर्दैन, क्रान्तिले कानुन बनाउछ ।’ यो कानुन पनि अहिले क्रान्तिले बनाएको हो ।

    त्यसकारण हामीले जुनखालको रगत पसिना बगाएर यो उपलब्धि प्राप्त गरेका छौं, आज आएर चाहिँ जुन हाम्रो हातमा हतकडी लगाइएको छ, र आज जाली तमसुक गराइएको छ त्यो मुचुल्कामा। हामीलाई कालो चस्मा लगाएर सीबीआईले कहाँ लियो थाहा छैन । म ४५ सालमा त्यहाँ हिरासतमा पर्दाको त्यहि महेन्द्रपुलिस क्लब रैछ त्यहिं लिएको रैछ । शहरभर घुमाएर कालाेकट्टि बाँधेर कहाँ लगियो थाहा छैन । पंचायत फाल्दा पनि हिरासत बारम्बार परे । त्यसपछि जनयुद्धमा ३ बर्ष जेल परे । अहिले पनि भर्खरै पोहोर साल पनि बिराटनगरमा पक्राउ परेको थिए । र त्यसकारणले गर्दाखेरी म यहाँ निवेदन के पेश गर्न चाहन्छु भने यो सत्यतथ्य चाहिँ खोज गरियोस र झुटो आरोप लगाइयो भने मतलब त्यहि कुरा मैले सम्झनु पर्ने हुन्छ यहि निवेदन गर्न चाहन्छु ।”

    सुन्नुहोस अडियो

    यता सर्वोच्च अदालतले भने नेता सुदर्शनकी छोरीले दिएको बन्दीप्रत्येक्षीकरणको रिट खारेज गरिदिएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र टंक मोक्तानको संयुक्त इजलासले सुदर्शनकी छोरी विपनाले दिएको बन्दीप्रत्येक्षीकरण रिट खारेज गर्ने फैसला गरेको हो। यसअघि ओलीलाई बुधबार नै सर्वोच्च उपस्थित गराइएको थियो। विपनाले चैत १३ गते आफ्ना बुवालाई प्रहरीले गैरकानुनी थुनामा राखेकाले थुनामुक्त गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दिएकी थिइन्।

    नेकपा नेता सुदर्शनसहित ९ जनालाई गत चैत ९ गते प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका-४ बरूणबेसीबाटट गिरफ्तार गरेर ललितपुर ल्याएको थियो । नख्खु बिस्फोटको जिम्मेवारी लिएसँगै प्रहरीको सर्वाधिक खोजीमा रहेका सुदर्शनलाई महानगरीय प्रहरी अपराध महाशाखा विशेष ब्युरो र काभ्रेको प्रहरी टोलीले गिरफ्तार गरेको थियो । सुराकको आधारमा उनको खोजी गर्दै काभ्रे पुगेको महाशाखाको विशेष ब्युरो र काभ्रे प्रहरीको टोलीलेले प्राइभेट जिपमा काठमाडौं आउने क्रममा उनीसहित धर्म राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का पनि गिरफ्तार गरेको थियो।

    गिरफ्तार परेका सबै नेता कार्यकर्तालाई प्रहरीले नख्खुमा एनसेल टावरमाथि भएको बम बिस्फोटको घटनामा संलग्न रहेको भन्दै हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरीले अहिले पनि नेकपाका नेता कार्यकर्तामाथि धरपकड गर्ने र गिरफ्तार गर्ने काम जारी राखेको छ । केहिदिन अघि मात्रै सिन्धुपाल्चोक, रोल्पालगायतका जिल्ला अदालतले कतिपयलाई धरौटीमा त कतिपयलाई सामान्य तारेखमा रिहा गरेको छ।

    यसैबीच सुदर्शनसहित देशभरबाट गिरफ्तार परेका नेकपा नेता कार्यकर्ताको रिहाइ र प्रतिबन्ध फिर्ता लिन माग गर्दै उक्त पार्टीले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । पार्टी महासचिव विप्लवले सोमाबर २ पेज लामो विज्ञप्ति सार्वजनिक गर्दै बैसाख ६ गतेदेखि केपी ओली सहभागी हुने देशका विभिन्न भागका कार्यक्रमहरुमा वन्दको आयोजना गरी प्रतिवन्धीत गर्ने उद्घोष गरेका छन् ।

    ओली सरकारको फाँसीवादी दमनको नेपाली जनतासहित आफ्नो पार्टीले शक्तिशाली प्रतिवाद गर्ने र त्यसबाट निस्कने भयवह परिणामको जिम्मेवार केपी पिके गिरोह र ओली सरकार हुने उनको चेतावनी छ । संघर्षका कार्यक्रम अन्तर्गत चैत्र २६ देखि २९ गतेसम्म प्रतिवन्ध विरुद्ध पर्चा वितरण र भण्डाफोर गर्ने, वैशाख २ गते कोण सभा, वैशाख ३ गते अन्तरक्रिया, वैशाख ४ गते मशाल जुलुस र ५ गते नेपाल बन्दको आयोजना गरिएको छ । त्यस्तै वैशाख ६ गतेबाट केपी ओली सहभागी हुने देशका विभिन्न भागका कार्यक्रमहरुमा वन्दको आयोजना गरी सामाजिक दलालहरुलाई प्रतिवन्धीत गर्ने विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ