• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद समाचार

    एनपिएलको प्लेअफमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

    378
    SHARES



    काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको प्लेअफ चरण आजदेखि सुरू हुँदैछ। पहिलो क्वालिफायरमा लिग चरणको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र दोस्रो स्थानको सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न ४ः३० बजे सुरू हुनेछ। आजको खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोलीले फाइनल पुग्ने अर्को अवसर पाउनेछ।

    लिग चरणमा दुवै टोलीले समान पाँच खेल जितेका थिए। लुम्बिनीले सात खेलबाट पाँच जित, एक हार र एक खेल वर्षाका कारण रद्द हुँदा ११ अंक जोड्दै शीर्ष स्थान हासिल गरेको थियो। सुदूरपश्चिमले पाँच जित र दुई हारसहित १० अंक जोडेर दोस्रो स्थानमा लिग चरण टुंग्याएको थियो।

    गत संस्करणको विजेता लुम्बिनी यसपटक पनि उपाधि रक्षा गर्ने लक्ष्यमा छ। राष्ट्रिय टोलीका पूर्वकप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले ब्याटिङ र बलिङ दुवैमा सन्तुलित प्रदर्शन गर्दै लिग चरणमा आफूलाई बलियो टोलीका रूपमा प्रस्तुत गरेको छ।

    यता, दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम पनि लगातार तेस्रो संस्करण प्लेअफमा पुगेको छ। अघिल्ला दुई संस्करणमा फाइनल खेलेको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यमा छ।

    पहिलो क्वालिफायरपछि भोलि एलिमिनेटर खेल हुनेछ। एलिमिनेटरमा लिग चरणको तेस्रो स्थानमा रहेको काठमाण्डु गोर्खाज र चौथो स्थानको चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ।

    करण केसीको नेतृत्वमा रहेको काठमाण्डुले आठ अंक जोडेको थियो भने चितवनले सात अंकसहित प्लेअफमा स्थान बनाएको थियो।

    एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ। उक्त खेल जित्ने टोली फाइनलमा प्रवेश गर्नेछ। पहिलो क्वालिफायरको विजेता भने सिधै उपाधिका लागि हुने अन्तिम प्रतिस्पर्धामा पुग्नेछ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ