• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद समाचार

    एनपीएल तेस्रो संस्करणको उद्घाटनमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    286
    SHARES



    काठमाडौँ । नेपाली क्रिकेटको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ ।

    नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने प्रतियोगिता आज कात्तिक ९ देखि मंसिर ५ गतेसम्म (अक्टोबर २६ देखि नोभेम्बर २१) कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

    प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन् । खेल सोमबार बेलुकी साढे ४ बजेपछि सुरु हुनेछ ।

    मंगलबारदेखि भने एकै दिन दुई खेल सञ्चालन हुनेछन् । पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल बेलुकी ५ बजे सुरु हुनेछ । एक खेल मात्र हुने दिन पनि खेल बेलुकी ५ बजेपछि सुरु हुने तालिका छ ।

    प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज सहभागी हुनेछन् । यी आठ टोलीले लिग चरणमा एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् ।

    तेस्रो संस्करणको एनपीएल यसअघिका संस्करणभन्दा केही फरक र विशेष हुने अपेक्षा गरिएको छ । यसपटक खेलमा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रयोग गरिनेछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट प्रतियोगिताले मान्यता पाउनु र विदेशी खेलाडीको सहभागिताले पनि यस संस्करणलाई थप आकर्षक बनाएको छ ।

    डीआरएस, आईसीसीको मान्यता, विदेशी खेलाडीको सहभागिता र पुरस्कार रकममा भएको वृद्धिका कारण यसपटकको प्रतियोगितालाई विशेष चासोका साथ हेरिएको छ ।

    विजेतालाई डेढ करोड पुरस्कार

    तेस्रो संस्करणमा पुरस्कार रकम बढाइएको छ । प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ८० लाख रुपैयाँ पाउँदा तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पाउनेछन् । यसअघि पहिलो र दोस्रो संस्करणका विजेताले एक करोड रुपैयाँ प्राप्त गरेका थिए ।

    क्यानले यस संस्करणमा प्रायोजन, टिकट बिक्री र प्रसारण अधिकारबाट आम्दानी बढ्ने अपेक्षा गरेको छ । क्यानका कोषाध्यक्ष पदम खड्काका अनुसार प्रतियोगिताबाट कुल एक अर्ब ५० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । प्रायोजनबाट २० करोड र टिकट बिक्री तथा प्रसारणबाट ७० करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अपेक्षा गरिएको छ ।

    डीआरएस र आईसीसीको मान्यता मुख्य आकर्षण

    यस संस्करणको सबैभन्दा महत्त्वपूर्ण परिवर्तन डीआरएसको प्रयोग हो । अम्पायरको निर्णयमा असन्तुष्ट भएको अवस्थामा टोलीले निर्धारित नियमअनुसार पुनरावलोकन माग्न सक्नेछ । प्रत्येक टोलीले एक इनिङ्समा दुईवटा असफल पुनरावलोकनको सुविधा पाउनेछ ।

    बलको दिशा र प्रक्षेपण पत्ता लगाउने प्रविधि तथा ब्याटमा बल लागेको वा नलागेको जाँच गर्ने प्रविधिसमेत प्रयोग गरिनेछ । रनआउट, स्टम्पिङ र केही अन्य निर्णयको पुनरावलोकन पनि गरिनेछ । यसका लागि क्यानले करिब एक करोड ५० लाखदेखि दुई करोड रुपैयाँसम्म खर्च हुने अनुमान गरेको छ ।

    अर्को महत्त्वपूर्ण पक्ष आईसीसीको मान्यता हो । आईसीसीले अक्टोबर १६ मा एनपीएलको तेस्रो संस्करणलाई मान्यता दिएको छ । यससँगै प्रतियोगिताका खेलले आधिकारिक ट्वान्टी–२० मान्यता पाउनेछन् । खेलाडीले बनाएका रन र लिएका विकेट आधिकारिक करिअर तथ्याङ्कमा समावेश हुनेछन् । यसले सक्रिय अन्तर्राष्ट्रिय खेलाडीलाई प्रतियोगितामा सहभागी गराउन सहज हुने अपेक्षा गरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ