जनकपुरधाम । जनकपुरमा मिटरब्याजी आरोपमा पक्राउ परेका एकै घरका तीन जनालाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरकी ४८ वर्षीया रेखा साह, उनका छोरा ३२ वर्षीय हरेराम साह र जेठाजु ५३ वर्षीय गोपाल साहलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । ठगी (अनुचित लेनदेन) र आपराधिक विश्वासघात मुद्दामा गत १ साउनमा उनीहरूलाई धनुषा प्रहरीले पक्राउ गरेको थियो ।
बुधबार र बिहीबार भएका थुनछेक बहसपछि धनुषा जिल्ला अदालतले तीनै जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।इजलास नम्बर ११ की न्यायानीधश हिरामाया अवालको इजलासले यस्तो आदेश दिएको हो ।
दुईदिनसम्म मिटरब्याज पीडितहरू तथा पक्राउ परेकापक्षका माननिसहरू जिल्ला अदालत अगाडि प्रदर्शन गरेका थिए । यो मुद्दामा जाहेरवाला नेपाल प्रहीका पूर्वएसपएसपी गोबिन्दकुमार साहसमेत छन् । विदेह नगरपालिका –८ बफैँका साहसहितको जाहेरीका आधारमा उनीहरूमाथि धनुषा प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो ।
धनुषा प्रहरीका अनुसार पक्राउ परेका गोपालको जनकपुरधामस्थित घरबाट ५० थान जग्गाधनी पुर्जा, १८ थान नागरिकता लगायतको कागजात तथा ल्यापटप बरामद गरेको थियो ।
उनीहरूमाथि अनुचित लेनदेन तथा ठगीसम्बन्धी नौवटा मुद्दा दर्ता गरिएको छ । हालसम्म ६ वटा मुद्दामा मात्र सुनुवाइ भएको छ ।
अन्य मुद्दामा सुनुवाइ जारी रहेको र अब अदालतको आदेश बमोजिम उनीहरूलाई जलेश्वर कारागार पठाउने प्रक्रिया अगाडि बढाइएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेले बताए ।



प्रतिक्रिया