काठमाडौं । पछिल्ला केही दिनयता बजारमा एलपी ग्याँसको अभाव देखिएको भन्दै सरकारमाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्री बालेन शाहले भने राष्ट्रिय उद्योग तथा संस्थानमा सुधारका प्रयास भइरहेको दाबी गरेका छन् ।
प्रतिनिधिसभामा सरकारको कामकारबाही र बजारमा देखिएको ग्याँस अभावबारे सांसदले प्रश्न गरेपछि प्रधानमन्त्री शाहले आज बिहान लामो फेसबुक स्टाटस लेख्दै बन्द तथा घाटामा रहेका सरकारी उद्योग र संस्थान सुधारको दिशामा अघि बढेको दाबी गरेका हुन् ।
सत्तारूढ दलकै सांसदहरूले समेत बजारमा देखिएको समस्या र सरकारको कार्यसम्पादनबारे प्रश्न उठाइरहेका बेला प्रधानमन्त्रीले आफ्नो सरकार गठनपछि राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउने कामलाई प्राथमिकता दिइएको बताए । ‘वर्षौंदेखि बन्द रहेका, घाटामा थलिएका र निराशाले घेरिएका हाम्रा आफ्नै राष्ट्रिय उद्योग के फेरि तङ्ग्रेर आफ्नै गोडामा उभिएलान् ?’ भन्दै उनले यस्तो चिन्ता र शंका स्वाभाविक भएको उल्लेख गरेका छन्।
तर, नियत सफा राखेर जिम्मेवारीप्रति इमान्दार हुने हो भने चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खोल्न सकिने उनको दाबी छ।
प्रधानमन्त्रीका अनुसार सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सकिन्छ भन्ने विषयमा सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको छ। त्यसैको परिणामस्वरूप केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेको उनको भनाइ छ।
औषधि लिमिटेड नाफामा गएको दाबी
प्रधानमन्त्रीले लामो समय घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको बताएका छन्।
विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा वृद्धि भएको र गत आर्थिक वर्षमा लिमिटेडले ३ करोड रुपैयाँ नाफा आर्जन गरेको उनको दाबी छ। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य राखिएको छ।
सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत आगामी तीन वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखिएको पनि प्रधानमन्त्री शाहले बताएका छन्। यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेकामा २५ प्रकारको उत्पादन तयारी अन्तिम चरणमा पुगेको र हाल ११ प्रकारका औषधि उत्पादन भइरहेको उनले उल्लेख गरेका छन्।
हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन
लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको प्रधानमन्त्रीले बताएका छन्।
तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भइसकेको र केही मात्रामा कपडा उत्पादनसमेत हुन थालेको उनको भनाइ छ। परीक्षणपछि उद्योग नेपाल सरकारले नै सञ्चालन गर्ने योजना रहेको उनले बताएका छन्।
नेपाल एयरलाइन्सको आम्दानी बढेको दाबी
प्रधानमन्त्रीले नेपाल वायुसेवा निगमको आर्थिक अवस्थामा समेत सुधार आएको दाबी गरेका छन्। गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको र यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी भएको उनले बताएका छन्।
उक्त अवधिमा नेपाल एयरलाइन्सको सीट उपयोगिता ८६ प्रतिशत पुगेको थियो। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ६ प्रतिशत बढी भएको उनको दाबी छ।
यसै अवधिमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका लागि लिइएको ऋणबापत १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्ता भुक्तानी गरिएको पनि उनले बताएका छन्।
डीडीसीको बक्यौता भुक्तानी घटेको दाबी
दुग्ध विकास संस्थान (डीडीसी)मा किसानको रोकिएको बक्यौता भुक्तानीलाई प्राथमिकता दिइएको प्रधानमन्त्रीको भनाइ छ।
उनका अनुसार किसानलाई भुक्तानी गर्ने चक्र ८ महिनाबाट घटाएर २–३ महिनामा झारिएको छ। यसअघि ७२ करोड रुपैयाँसम्म रहेको भुक्तानी दायित्व अहिले ३५ करोड रुपैयाँमा झरेको उनको दाबी छ।
किसानलाई दूधमा प्रतिलिटर एक रुपैयाँ प्रोत्साहन रकम थप गरिएको तथा सुधारका प्रयास सुरु भएपछि दैनिक बिक्री ३५ प्रतिशतले बढेको उनले बताएका छन्। दैनिक औसत ६० लाख रुपैयाँ रहेको राजस्व संकलन अहिले ९० लाख रुपैयाँ पुगेको वक्तव्यमा उल्लेख छ।
कानुनविपरीत विगतदेखि कर्मचारीलाई वितरण हुँदै आएको घ्यू र दूधको सुविधा कटौती गरी वार्षिक झन्डै ३ करोड रुपैयाँ बचत गरिएको पनि प्रधानमन्त्रीले बताएका छन्।
डीडीसीले खाडी मुलुकमा घ्यू, चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी गरिरहेको तथा नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गर्ने तयारी भइरहेको उनको भनाइ छ।
वैद्यखानाको कारोबार चार गुणा बढेको दाबी
सिंहदरबार वैद्यखाना विकास समितिबाट सरकार गठनपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण गरिएको प्रधानमन्त्रीले बताएका छन्।
गत आर्थिक वर्षमा वैद्यखानाको औषधि कारोबार करिब १३ करोड रुपैयाँ पुगेको र यो अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी भएको उनको दाबी छ।
हाल वैद्यखानाले १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरिरहेको तथा चालु आर्थिक वर्षमा त्यसलाई बढाएर १५० प्रकार पुर्याउने लक्ष्य राखिएको उनले बताएका छन्। निःशुल्क वितरण हुने ३५ प्रकारका औषधिको उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा वैद्यखाना अघि बढिरहेको पनि उनले उल्लेख गरेका छन्।
चालु आर्थिक वर्षमै पाउडर र ट्याब्लेट औषधि उत्पादनमा जीएमपी मापदण्ड हासिल गर्ने तथा जडीबुटी र औषधिजन्य कच्चा पदार्थको प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्य रहेको वक्तव्यमा उल्लेख छ।
पछिल्लो समय बजारमा एलपी ग्यासको आपूर्ति सहज हुन नसकेको, खाना पकाउने ग्यासका लागि उपभोक्ताले कठिनाइ बेहोर्नुपरेको विषयलाई भने उनले सम्बोधन गरेका छैनन् ।
प्रधानमन्त्रीले सांसदहरूको प्रश्नमा घुमाउरो तरिकाले सरकारले राम्रो काम गरिरहेको छ भन्ने जवाफ दिएका छन् । सोही अनुसार उनले राम्रो संकेत देखिएका संस्थानहरुको उल्लेख गरेका हुन् ।



प्रतिक्रिया