काठमाडौँ । कैलालीमा बिहीबार बिहान नेपाली सेनाको सैन्य तालिमका क्रममा हाते ग्रिनेड विष्फोट हुँदा दुई जना सैनिक घाइते भएका छन्।
सैन्य तालिमका क्रममा ग्रिनेट विष्फोट हुँदा सहायक सेनानी ३० वर्षीय विक्रम कार्की र २० वर्षीय जवान रञ्जित थारू घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
घाइते दुबै जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको प्रहरीले जनाएको छ। घाइते दुबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
बिहान ७: ४० बजेतिर नेपाली सेनाको देवीदल गण, ‘तेघरी ब्यारेक’ बाट गोदाबरी नगरपालिका–४ स्थित वनदेवीमा सैन्य अभ्यासका लागि गएकाहरू अभ्यासकै क्रममा प्लाष्टिकको ह्याण्ड ग्रिनेट विष्फोट हुँदा उनीहरू घाइते बनेको प्रहरीले जनाएको छ। धनगढीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
यसअघि असार ११ गते बिहान कैलालीको चिसापानीमा सैन्य अभ्यासकै क्रममा ग्रिनेट विष्फोट हुँदा सेनाका हुद्दा हिमालविक्रम विष्टको मृत्यु भएको थियो। संयोगले त्यो दिन पनि बिहीबार नै परेको थियो। त्यतिखेर पनि ग्रिनेड विष्टफोटमा परी सहसेनानी हिमराज जोशी घाइते भएका थिए। त्यो दुर्घटनाका घाइते सहसेनानी जोशीलाई पनि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको थियो।
त्यो दुर्घटना कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा अभ्यासका क्रममा भएको थियो। सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेक चिसापानीबाट सञ्चालन गरिएको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट भएको थियो।



प्रतिक्रिया